ओलीलाई अध्यक्षबाट हटाउँदै नेपाललाई अध्यक्ष बनाउने नेकपा बहुमत पक्षको निर्णय
७ पुस २०७७ काठमाडौं । काठमाडौंको बबरमहलस्थित कार्की बैंकेटमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमत पक्षको बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएको घोषणा गरेको छ ।
बैठकले ओलीको स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ सदस्य सहभागी रहेको बताइएको छ।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । माधवकुमार नेपाललाई अध्यक्ष बनाउने नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको निर्णयमा केन्द्रीय कमिटी सदस्य प्रभु साहले विरोध जनाएका छन् ।
मंगलबारको बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको छ । अर्को बैठक पर्सी ११ बजे बस्ने गरी आजका लागि सकिएको छ ।
प्रतिक्रिया