संसद विघटनपछिको अवस्थाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

७ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ।
पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पार्टी बस्ने बैठकमा संसद विघटनपछिको अवस्थाबारे छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरिएको भन्दै कडा प्रतिवाद गर्ने यसअघि नै बताइसकेको छ।
सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले ओली नेतृत्वको सरकारले अधिनायवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट संवैधानिक व्यवस्था प्रतिकुल प्रतिनिधिसभा विघटन गरेको ठहर गरेको थियो।
पछिल्लो पटक उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले हिजो सर्वदलीय बैठकसमेत बोलाएको थियो। आजको केन्द्रीय कार्यसमिति बैठकले सर्वदलीय बैठकलाई निरन्तरता दिने, आफ्नो अगुवाईमा सरकारको कदमविरुद्ध संघर्ष गर्ने लगायतका निर्णय गर्ने छ ।
यसैबीच (जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि आजै बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा १२ बजेपछि बस्ने बताइएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि केन्द्रीय सम्पादन समितिको बैठक आजै बस्दैछ । बैठक अर्पण बैंक्वेट,नयाँ बानेश्वरमा ११ बजे बस्ने तय भएको राप्रपाले जनाएको छ ।
प्रतिक्रिया