संसद विघटन र मध्यावधि चुनावबारे छलफल गर्न कांग्रेसले बोलायो सर्वदलीय बैठक

६ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै पछिल्लो राजनीतिक अवस्थाबारे साझा धारणा बनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाउनुभएको छ ।
बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर साझा धारणा बनाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपाका प्रचण्ड–नेपाल समूह तथा कांग्रेससहितका विपक्षी दलहरु असन्तुष्ट छन् ।
संसद विघटन गर्नु गैरसंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विपक्षी दलले आपत्ति जनाएका छन् । आजको बैठकमा प्रतिनिधिसभामा रहेका सबै दललाई बोलाइएको छ ।
बैठकले सरकारको कदमविरुद्ध संयुक्त आन्दोलनलगायतका रणनीति बनाउनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ चुनावको घोषणा गर्नुभएको छ ।
उक्त निर्णय असंवैधानिक भएको भन्दै विपक्षी दलहरु र सत्तारुढ नेकपाका नेताहरु हिजैदेखि सडक आन्दोलनमा उत्रिसकेका छन् ।
प्रतिक्रिया