अविश्वास र राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता गर्न लागेकाले संसद विघटनः प्रम ओली
६ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र आफूलाई अविश्वासको प्रस्ताव दर्ता गर्न लागेकाले संसद विघटन गरेको प्रष्टिकरण दिनुभएको छ ।
संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाल समूहकै कारण संसद विघटन गर्नुपरेको भन्दै नयाँ जनादेशका लागि सांसदहरुलाई चुनावमा होमिन आग्रह गर्नुभयो ।
लामो सम्बोधन गरेका प्रधानमन्त्री ओलीले प्रचण्ड नेपालले गरेको अनुशासनको कारबाही विधानविपरीत भएको भन्दै अस्वीकार गर्नुभयो । सांसदहरुले पनि प्रचण्ड–नेपाल पक्षले गरेको कारबाहीलाई अस्वीकार गर्ने बताएका छन् ।
भेलामा सहभागी सांसदहरुले प्रधानमन्त्री एवं अध्यक्ष ओली आफैंले पार्टी नफुटाउने पनि बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सोमबार नै बोलाएको संसदीय दल र भोलि बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन निर्देशनसमेत दिनुभएको छ ।
प्रतिक्रिया