Political Hightlights

प्रधानमन्त्री ओलीको कदमविरुद्ध सबै दल भए एकजुट

हिमालय टिभी
२०७७ पुष ५ गते १९:१२
प्रधानमन्त्री ओलीको कदमविरुद्ध सबै दल भए एकजुट

५ पुस २०७७ काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सबै राजनीतिक दल एक जुट भएका छन् ।

उनीहरुले एकजुट भएर त्यसको प्रतिवाद गर्ने घोषणा गरेका छन् । यसमा सत्तारुढ नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख विपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीदेखि साना दलसम्म छन् ।

उनीहरुले राजनीतिक र कानूनी रुपमा संसद विघटनको कदमविरुद्ध उभिने निर्णय गरेका छन् । सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले ओलीको कदमलाई प्रतिगामी र निरंकुश भनेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ ।

पदाधिकारी बैठकले सरकारको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम भनेको छ ।

संसद विघटन गर्ने निर्णयलाई कांग्रेसले घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना भनेको छ ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन स्वीकार नगर्ने बताउनुभयो ।

यस्तै जनता समाजवादी पार्टीले संसद विघटनलाई व्यवस्था माथिको प्रहार भनेको छ । उसले यसका विरुद्ध प्रतिवादमा उत्रिन पनि नागरिकलाई अपील गरेको छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गैरसंवैधानिक कदमको सबै दल मिलेर यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राप्रपाले पनि यसलाई प्रतिगामी कदम भनेको छ ।

यस्तै राष्टिय जनमोर्चा, विवेकशील साझा पार्टी लगायतका पार्टीले पनि यसको विरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्