Political Hightlights

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीको आनाकानी, ओलीले भने-राष्ट्रपति भेटेर मात्र फिर्ता लिन्छु (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २ गते १९:१८
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीको आनाकानी, ओलीले भने-राष्ट्रपति भेटेर मात्र फिर्ता लिन्छु (भिडियोसहित)

२ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गर्नुभएको छ ।

सत्तारुढ नेकपाको स्थायी कमिटीमा अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाए पनि २४ घण्टा नबित्दै प्रधानमन्त्रीले फिर्ता लिन आनाकानी गर्नुभएको हो ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा ओलीले एक पटक राष्टपति विद्यादेवी भण्डारीसँग भेटेपछि मात्रै अध्यादेश फिर्ता लिने बताउनुभएको छ ।

प्रचण्डले आजको मन्त्रिपरिषद बैठकबाटै अध्यादेश फिर्ता लिन भने पनि ओलीले राष्टपतिसँग भेटेपछि फिर्ता लिन्छु भनेको नेकपाका एक नेताले जानकारी दिएका छन ।

हिजो अध्यादेश फिर्ता लिन्छु भनेका प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष ओलीले आज परिषदको बैठक बोलाएपछि प्रचण्ड नेपाल पक्ष संशकित भएको छ । ओलीले बेलुकी पाँच बजेका लागि बोलाएको बैठक प्रचण्डको दबाबमा स्थगित गरे पनि आफ्नो मुड सहमति सहजै कार्यान्वयन नगर्ने रहेको सन्देश प्रचण्ड नेपाल पक्षलाई दिनुभएको छ ।

यसबारे प्रचण्डले आफू निकट नेतासँग खुमलटारमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री अहिले पनि अध्यादेश फिर्ता लिन अन्कनाइरहेको प्रचण्डले आफू निकटका नेताहरुलाई बताउनुभएको छ ।

आजको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता नलिए स्थायी कमिटीको आकस्मिक बैठक बोलाउने प्रचण्ड नेपाल पक्षको तयारी छ । हिजो अध्यादेश फिर्ता लिन्छु भनेका प्रधानमन्त्री ओलीले आज बेलुकी संवैधानिक परिषद बैठक बोलाएर परिषदका सदस्यहरुलाई सूचना दिनुभएको थियो ।

तर विपक्षी दलका नेता शेरबहादुर देउवाले उपस्थित नहुने बताउभएको थियो भने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी नभएको जानकारी दिनुभएको थियो । ओलीले बैठक बोलाएपछि प्रचण्डले बालुवाटार पुगेर आपत्ति जनाउनुभएको थियो ।

त्यसपछि मात्रै ओलीले बैठक स्थगन गर्न सहमत हुनुभएको थियो । ओलीले बैठक बोलाएपछि प्रचण्ड–नेपाल पक्षका नेताहरु संशकित भएकाले ओली पक्षका नेताहरु सहज बनाउन कोशिसमा लागेका छन ।

अध्यादेश जारी भएपछि बुधबार नेकपाका ८३ जना सांसदले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालय पुगेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्