Political Hightlights

संघीय संसदको बैठक तत्काल बोलाउन प्रमुख प्रतिपक्षी कांग्रेसको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १ गते १७:३२
संघीय संसदको बैठक तत्काल बोलाउन प्रमुख प्रतिपक्षी कांग्रेसको माग (भिडियोसहित)

१ पुस २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको हो । बैठकले तत्काल संसद बैठक बोलाएर समस्याहरुको समाधान खोज्नुपर्ने माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो ‘बैठकले संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन माग गर्ने निर्णय गरेको छ र संवैधानिक परिषद् सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्नलाई कांग्रेस पार्टीको संसदीय दलको बैठक बोलाउने सम्बन्धी थप छलफल भइरहेको छ ।’

बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन माग गरेको छ । बैठकले संवैधानिक परिषदको गरिमा समाप्त गर्नेगरी अध्यादेश आएको भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो । बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरीत भएको ठहरसमेत गरेको छ । बैठकका निर्णयहरु सुनाउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संसद अधिवेशन छलेर संविधानको मर्मविपरीत अध्यादेश जारी गरी सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उजागर गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको छ । संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको छ ।’

अध्यादेश जारी भएपछि हुने कुनै पनि निर्णय कांग्रेस पार्टीलाई मान्य नहुने पनि प्रवक्ता शर्माले बताउनुभयो । उहाँले भन्नुभयो ‘संवैधानिक परिषद्को गरिमा समाप्त गरेर जारी गरिएको अध्यादेशपश्चात कुनै पनि निर्णय भएको खण्डमा भएको वा हुने दुवै स्थितिमा नेपाली कांग्रेस पार्टीलाई मान्य नहुने चेतावनी पनि बैठकले दिने निर्णय गरेको छ । यो अध्यादेश अविलम्ब फिर्ता हुनपर्दछ भनेर बैठकले माग गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्