Political Hightlights

गृहमन्त्री थापाले भने– ‘व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै हो’

हिमालय टिभी
२०७७ मंसिर २९ गते १४:१३
गृहमन्त्री थापाले भने– ‘व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै हो’

२९ मंसिर, २०७७ चितवन । गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताउनुभएको छ ।

प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने स्पष्ट गर्नुभयो ।

नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उहाँको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भन्नुभयो, “यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।”

अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यसैबीच गृहमन्त्री थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको आज भण्डारामा उद्घाटन गर्दै उहाँले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्न यसले सहयोग पुर्‍याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कुरा सम्भव हुन्छ ।” उहाँले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं सङ्गठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । गृहमन्त्रीले भन्नुभयो, “सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरी समयानुकूल कार्यसम्पादन गर्न सकेमा राष्ट्र र सङ्गठनको लक्ष्य प्राप्तिमा थप टेवा पुग्नेछ ।”

उहाँका अनुसार चालु आर्थिक वर्षमा २२१ बोर्डर आउट पोष्ट९बिओपी० स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको छ ।

भारत र चीन दुवै देशसँग सिमाना जोडिएको वाग्मती प्रदेशको अलग र विशेष महत्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउँदै उहाँले राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन निर्देशन दिनुभयो ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई मजबुत बनाउँदै अघि बढ्ने बताउनुभयो । उहाँका अनुसार देशका सिमानामा ५०० बिओपी पु¥याइने छ ।

बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बाहिनीका बारेमा जानकारी गराउनुभएको थियो । सो बाहिनी विसं २०७५ भदौ ६ गते स्थापना भएको हो । यसले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक वाग्मती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्