फुटेको झण्डै दुई वर्षपछि विवेकशील र साझा पार्टी आज एक हुँदै

२४ मंसिर, २०७७ काठमाडौं। विभाजन भएको झण्डै दुई वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता हुने भएको छ ।
विगतको फुटलाई गलत भन्दै क्षमायाचनासहित दुई दल एकता गर्ने निर्णयमा पुगेका हुन् । आज दिउँसो एकता घोषणा हुने विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले जानकारी दिनुभयो ।
एकीकृत पार्टीको नाम विवेकशील साझा रहनेछ । एकीकृत पार्टीको अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे बन्ने सहमति भएको छ ।
एकतापछि पार्टीको केन्द्रीय कार्यसमितिमा दुवै तर्फका ६५–६५ जना गरी १ सय ३० जना सदस्य रहनेछन ।
एकता घोषणाको पूर्वसन्ध्यामा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफूहरुबाट विगतमा कमजोरी भएको भन्दै माफी माग्नुभएको छ । सामाजिक सञ्जालमार्फत मिश्रले अब विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउने दावी गर्नुभएको छ ।
यस्तै विवेकशीलका अध्यक्ष मिलन पाण्डेले दुई वर्षमै कमजोरीबाट सिकेर एकीकृत भएको र लोकतान्त्रिक शक्ति बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
तर विवेकशील नेपाली दलमा एकताप्रति असन्तुष्टि पनि देखिएको छ । १३ संघीय सदस्य र प्रवास संगठनबाट एकताको विरोध भएको छ । उनीहरुले एकतामा सामेल नहुने बताएका छन् ।
साझा पार्टी वैकल्पिक शक्ति नरहेको उनीहरुको दावी छ । २०७४ साउन ११ गते दुई दल एक भएर बनेको विवेकशील साझा पार्टी २०७५ पुस २७ गते फुटेको थियो ।
प्रतिक्रिया