Political Hightlights

नेकपा स्थायी कमिटी बैठक आज, अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफलको तयारी

हिमालय टिभी
२०७७ मंसिर २१ गते ७:२१
नेकपा स्थायी कमिटी बैठक आज, अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफलको तयारी

२१ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयमा तीन साता अडिएको तनाव अब स्थायी कमिटीतर्फ प्रवेश गरेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिबीच सचिवालयले दुवै अध्यक्षका प्रस्तावलाई स्थायी कमिटीमा लगेको हो । पार्टीको विवाद आज बस्ने स्थायी कमिटी र २५ गतेदेखि शुरु हुने केन्द्रीय कमिटीबाट किनारा लगाउने नेकपाको तयारी छ ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रतिवेदन प्रस्तुत भएपछि अर्का अध्यक्ष ओली अब बैठकबाट होइन, सहमतिबाट मात्र समस्या समाधान गर्नुपर्ने पक्षमा हुनुहुन्छ।

उहाँले हिजोको बैठकमा पनि स्थायी कमिटी बैठक तत्काल नबोलाउने अडान राख्नु भएको थियो । तर, सचिवालयका बहुमत सदस्यले पार्टीका हरेक विवाद, असहमति, सहमति र निर्णय बैठकबाटै गर्ने भन्दै स्थायी कमिटी बैठक बोलाउने अडान लिएपछि आजका लागि स्थायी कमिटी बैठक निश्चित भएको हो ।

बहुमत नेताहरू स्थायी कमिटीमै दुवै प्रतिवेदन लैजाने पक्षमा उभिएपछि प्रचण्डले बैठकको निष्कर्ष सुनाउँदै १ बजेका लागि टेलिफोनमार्फत बैठक बोलाउन महासचिव पौडेललाई निर्देशन दिनु भएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका ओली भने मौन बस्नु भएको थियो ।

स्थायी कमिटी बैठक डाक्ने निष्कर्षबारे ओली मौन बसेकाले आजको बैठकमा उहाँ उपस्थित हुने वा नहुने टुंगो छैन ।

यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नेकपा विवाद सहमतिमै मिलाउन चासो राख्नु भएको थियो । तर, उनको चासो, चिन्ता र सक्रियताले यसपटक नतिजा निकालेको छैन ।

हिजो सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमै करिब पौने घन्टा बेग्लै छलफल भएको थियो । लगत्तै करिब तीन घन्टा चलेको सचिवालय बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमा केन्द्रित रहेर छलफल भए पनि कुनै सहमति नजुुटेकाले नेकपा विवाद क्रमशः फराकिलो मैदानमा प्रवेश गरेको छ ।

दुई अध्यक्षको सहमतिको सट्टा सबै विषयको छिनोफानो केन्द्रीय कमिटीसम्म पुर्याएर प्रक्रियाबाट टुंगोमा पुग्नुपर्ने अडानमा रहेका प्रचण्ड–नेपाल समूहको रणनीति एक कदम अगाडि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्