Political Hightlights

दुवै प्रस्ताव र चिठीपत्र स्थायी कमिटी बैठकमा लैजाने नेकपा सचिवालय बैठकको निर्णय

हिमालय टिभी
२०७७ मंसिर २० गते १६:५६
दुवै प्रस्ताव र चिठीपत्र स्थायी कमिटी बैठकमा लैजाने नेकपा सचिवालय बैठकको निर्णय

२० मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवाद अब नयाँ चरणमा प्रवेश गरेको छ । उक्त पार्टीको सचिवालय बैठकले अब स्थायी कमिटीबाटै विवाद छिनोफानो गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा झण्डै साढे तीन घण्टा बसेको बैठकमा दुबै अध्यक्षका प्रस्तावबारे छलफल भएको छ । सचिवालयबाट कुनै निष्कर्ष निस्कन नसकेकाले अब दुबै प्रस्ताव र चिठीपत्र स्थायी कमिटीमा लैजाने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक बस्नुभन्दा अगाडि अध्यक्षद्धयबीच भएको भेटवार्तामा पनि कुनै समझदारी नभएको बताउनुभयो । सचिवालय बैठकमा पार्टीको संकट निवारणका लागि छलफल भएपनि आजै निष्कर्षमा पुग्ने सम्भावना नभएकोले स्थायी कमिटीमा पेस गर्ने निर्णय भएको बताउनुभयो ।

स्थायी कमिटीको बैठक चलिरहदा आवस्यक परेमा अध्यक्षद्धय बीच र सचिवायलको औपचारिक तथा अनौपचारिक बैठक समेत बसेर छलफललाई अगाडि बढाउन सकिने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएको आजको बैठकमा दुबै पक्षले आआफ्नो पक्षमा तर्क गरेका छन् ।

बैठक शुरु हुनु अघि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल पनि भएको थियो । तर दुई अध्यक्षको छलफलमा पनि कुनै सहमति हुन सकेन ।

ओली पक्षले बैठक स्थगन गरेर अनौपचारिक छलफलबाट समाधान निकाल्नुपर्नेमा जोड दिइरहेको थियो । तर सचिवालयका बहुमत सदस्यले अब स्थायी कमिटीबाटै छिनाफानो गर्नुपर्ने बताएपछि ओली पक्ष गलेको हो । स्थायी कमिटी बैठक भोलिका लागि बोलाइएको छ ।

यस्तै स्थायी कमिटीबाट पनि निष्कर्ष निस्कन नसके सबै प्रस्ताव केन्द्रीय कमिटीमा जानेछन् । केन्द्रीय कमिटी बैठक २५ गते बोलाइएको छ । दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्