निर्णायक भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
२० मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्णायक भनिएको सचिवालय बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनु भएको छ ।
यसअघि सहमति जुटाउन र आवश्यक तयारी गर्न भन्दै तीन दिनका लागि बैठक स्थगित गरिएको थियो । आजको बैठक शुरु हुनुअघि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल भएको छ ।
करिव २० मिनेटको छलफलपछि ओली बैठकमा सहभागी हुनु भएको थियो । मंसिर १७ गते बसेको सचिवालय बैठकयता ओली र प्रचण्डबीच छुट्टै औपचारिक संवाद भएको थिएन ।
दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । ओली पक्षले बैठक स्थगन गरेर अनौपचारिक छलफलबाट समाधान निकाल्नुपर्नेमा जोड दिइरहेको छ ।
प्रचण्ड–नेपाल समूह भने सबै विषय स्थायी कमिटीमा लगेर निष्कर्ष निकाल्नुपर्ने पक्षमा छ । नेकपाले भोलीका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।
यसअघि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित रहेको छ । दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मङ्सिर २५ गते हुने केन्द्रीय कमिटी बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरूबीच विवाद रहेको छ ।
प्रतिक्रिया