Political Hightlights

निर्णायक भनिएको नेकपा सचिवालय बैठक आज, दुवै पक्ष आआफ्नै रणनीतिमा

हिमालय टिभी
२०७७ मंसिर २० गते ७:०६
निर्णायक भनिएको नेकपा सचिवालय बैठक आज, दुवै पक्ष आआफ्नै रणनीतिमा

२० मंसिर, २०७७ काठमाडौं । निर्णायक हुने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । सहमतिका लागि तीन दिन बैठक स्थगित गरे पनि विना सहमति बैठक बस्न लागेको हो ।

दुवै पक्षका आ–आफ्ना अडानकाबीच सहमति खोज्न दोस्रो तहका नेताहरूको दौडधुप चले पनि उल्लेखनीय प्रगति भएको छैन । निकास बैठकबाट वा दुई अध्यक्षबीचको संवादबाट भन्नेमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मतभेद कायमै छ ।

एक–अर्काप्रति गम्भीर आरोप–प्रत्यारोपसहितका बेग्लाबेग्लै राजनीतिक प्रस्ताव अगाडि सारेका ओली र प्रचण्ड सहमतिको नयाँ विकल्पबारे संवादै नगरी आ–आफ्नै रणनीतिलाई बलियो बनाउने दिशातिरै अग्रसर देखिनु भएको छ ।

ओलीले बैठक स्थगन गरेर अनौपचारिक छलफलमा जोड दिनु भएको छ भने प्रचण्ड–नेपाल समूह आजको सचिवालय बैठकमार्फत सबै विषय स्थायी कमिटीमा प्रवेश गराउने तयारीमा छ ।

मंसिर १७ गते बसेको सचिवालय बैठकयता ओली र प्रचण्डबीच औपचारिक संवाद नभएपछि प्रधानमन्त्री निकट नेताहरूले प्रचण्डलाई भेटेर बहुमत–अल्पमतको प्रक्रियाबाट अगाडि बढ्दा पार्टी एकता भंग हुने सन्देश दिँदै सहमतिका लागि संवादमा बस्न आग्रह गरेका छन् ।

तर, प्रचण्डले भने प्रधानमन्त्री ओलीले सहमति खोजेको हो भने त्यसको आधार बैठकमै प्रस्तुत गर्नुपर्ने भन्दै आजका लागि बोलाइएको सचिवालय बैठक नरोकिने जवाफ फर्काउनु भएको छ ।

प्रधानमन्त्रीको सन्देश लिएर उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार र महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले बिहीबार खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गर्नु भएको थियो ।

बुधबार बसेको सचिवालय बैठकले पार्टीमा देखिएको संकट समाधानका लागि अनौपचारिक र औपचारिक दुवै तहमा नेताहरूबीच संवाद अघि बढाउने, २० मंसिरमा सचिवालय र २१ मंसिरमा स्थायी समिति बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्