Political Hightlights

नेकपा सचिवालय बैठकमा दुई अध्यक्षका अलगअलग प्रतिवेदनमाथि छलफल हुँदै

हिमालय टिभी
२०७७ मंसिर १७ गते ७:५०
नेकपा सचिवालय बैठकमा दुई अध्यक्षका अलगअलग प्रतिवेदनमाथि छलफल हुँदै

१७ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आज दुई अध्यक्षको अलगअलग प्रतिवेदनमाथि छलफल हुँदैछ ।

हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आआफ्नो प्रतिवेदनबारे बोलिसकेका छन् । आजको बैठकमा सचिवालय सदस्यहरुले प्रतिवेदनमाथि आआफ्नो धारणा राख्ने छन् ।

दुबै अध्यक्षले प्रतिवेदनमा एकअर्कामाथि दोष लगाउँदै पार्टी एकता भाँड्न खोजेको आरोप लगाएका छन्। हिजोको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पूर्व एमाले एकातिर छन् भन्ने भ्रम त्याग्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई चेतावनी दिनुभएको थियो ।

आजको बैठकमा प्रतिवेदनमाथि छलफल हुने र भोलि बोलाइएको स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ । ओली पक्षले दुबै प्रतिवेदनमा छलफल पछि फिर्ता लिने र साझा प्रतिवेदन बनाउने कसरत गरेको छ ।

तर प्रचण्ड पक्षले भने सहमति हुन नसके बहुमतका आधारमा निर्णयमा जाने रणनीति बनाएको छ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रचण्ड–नेपाल समुहको प्रष्ट बहुमत छ ।

अध्यक्ष ओलीले एकल आरोप लगाइएको प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने भए आफु आजको बैठकमा नबस्ने अडान लिनुभएको छ । ओली पक्षले बैठक केही दिन स्थगित गर्न चाहेको थियो ।

तर अरु नेताहरुले अनौपचारिक सम्वाद पनि गर्ने र बैठक पनि नरोक्ने बताएपछि आज बैठक बस्न लागेको हो । आजको बैठकमा ओली अनुपस्थित रहेपनि नेताहरुले प्रतिवेदनमाथि छलफल गर्ने छन् ।

नेकपाको स्थायी कमिटी बैठक भोलि बोलाइएको छ भने केन्द्रीय कमिटी बैठक मंसिर २५ मा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्