आर्थिक

महको माग बढेपछि नेपालगञ्जका मौरी पालक किसान उत्साहित (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १३ गते १४:४०
महको माग बढेपछि नेपालगञ्जका मौरी पालक किसान उत्साहित (भिडियोसहित)

१३ मंसिर, २०७७ नेपालगञ्ज । कोरोना संक्रमणका कारण नेपाली महको माग बढेपछि मौरी पालक व्यवसायी उत्साहित भएका छन् । महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यो वर्ष महको माग निक्कै बढेको छ । तर, मागअनुसार उत्पादन भने हुन सकेको छैन ।

माग बढेपछि मौरी पालक व्यवसायीलाई अहिले मह पुराउन हम्मेहम्मे परिरहेको छ । कोरोना संक्रमणसँगै महको माग बढ्दै गएको छ । व्यापारी मह खरिदका लागि किसानको घरमै पुग्न थालेका छन् ।

मह बनाउन मौरीको मुख्य श्रोत तोरीको फूल हो । तोरीसँगै जंगलका फूलको रस चुसेर मौरीले मह बनाउछ । पछिल्ला वर्ष मौरी पालक किसानले सिजन अनुसार फूल फुल्ने ठाउँमा घार लगेर चराउने गरेका छन् ।

दाङ र बाँकेबाट मौरी पालक किसान बर्दियाको गुलरिया, तारातालदेखि ठाकुरद्धारामा मौरी चराउन पुगेका छन् ।
मौरीले तोरीको परागसेचनमा सहयोग पुर्‍याउने भएकाले उत्पादन बढ्छ । त्यसैले मौरी चराउन ल्याउँदा तोरी खेती गर्ने किसान पनि लाभान्वित हुने गरेका छन् ।

नेपालमा मेलिफेरा जातको मौरी लोकप्रिय छ । फर्मबाट उत्पादित मह स्थानीय बजारमा प्रति किलो ५ सयदेखि १ हजार रुपैयाँमा विक्री हुन्छ ।

नेपालमा अहिले १ सयभन्दा बढी मौरीपालन सहकारी छन् । यो व्यवसायमा करीब १० हजार मानिसले प्रत्यक्ष र करीब २५ हजारले अप्रत्यक्ष रोजगारी पाइरहेका छन ।

नेपालमा वार्षिक ४ हजार मेट्रिक टन महको माग भए पनि आधा मात्रै उत्पादन हुने गरेको छ । यसलाई व्यवसायिक रुपमा अघि बढाउन सके वार्षिक २० हजार मेट्रिक टन उत्पादनको संभाबना छ ।

नेपालमा उत्पादन हुने महको विदेशमा पनि माग बढिरहेको छ । उत्पादन बढाएर विदेश निकासी गर्न सके माहुरी पालनबाट ठुलो लाभ लिन सकिने संभावनातर्फ ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *