खेलकूद

म्याराडाेनाकाे जीवनका उतार-चढाव, मैदानमा सफल तर विवादका पर्याय (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ११ गते २०:१७
म्याराडाेनाकाे जीवनका उतार-चढाव, मैदानमा सफल तर विवादका पर्याय (भिडियोसहित)

११ मंसिर, २०७७ काठमाडौं । विश्व फूटबलका महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भयो । फुटबलका सर्वकालिन महान खेलाडी म्याराडोनाले ४ पटक विश्वकप खेले र एक पटक अर्जेन्टिनालाई उपाधि जिताए । मैदानमा उनी जति सफल भए व्यक्तिगत जीवनमा त्यति नै विवादित बने ।

होचो कद, बलिष्ठ शारीरिक बनावट, घुँघ्रिएको कपाल अनि १० नम्बर जर्सी म्याराडोना भन्ने बितिकै धेरैको मानसपटलमा यस्तै आकृति आउँछ । एउटा कथानक चलचित्र जस्तै रह्यो उनको जीवन । विश्वकप जिताएर म्याराडोनाले सफलताको शिखर त चुमे नै विश्वभरका फुटबलप्रेमीका आइकन पनि बने । उनको जीवन भने निकै आरोहअवरोहबाट गुज्रिएको छ ।

सन् १९६० अक्टोबर ३० मा अर्जेन्टिनाको ब्युनस आयर्समा जन्मिएका उनी गरिबी र अभावसँग लड्दै किशोर अवस्थामै फुटबल हस्तीका रुपमा उदाए । १६ वर्षकै उमेरमा अर्जेन्टिनोस जुनियर्सबाट व्यवसायिक फुटबल सुरु गरेका म्याराडोना त्यसपछि बोका जुनियर्सबाट हुँदै सन् १९८२ मा बार्सिलोना गए ।

बार्सिलोनाले २१ वर्षिय म्याराडोनालाई त्यस समयको उच्च मुल्य ७ दशमलव ६ मिलियन डलरमा अनुबन्ध गरेको थियो । पछि नापोली, सेभिया हुँदै बोका जुनियर्सबाटै उनले व्यवसायिक खेल जीवन टुङ्याएका थिए ।

खेल जीवनमा चार पटक विश्वकप खेलेका उनी सन १९८६ मा भने चर्चाको शिखरमा पुगे । २५ बर्षको उमेरमा उनले अर्जेन्टिनालाई आफ्नै बलबुतामा विश्वकप जिताए । यहि विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्याण्डविरुद्ध म्याराडोनाले गरेका दुइ गोल त्यसयता जहिल्लै चर्चामा छन् ।

फकल्याण्ड टापुको स्वामित्वलाई लिएर अर्जेन्टिना र इङ्ल्याण्डबीच युद्ध भएको थियो । जहाँ अर्जेन्टिना पराजित भयो । यहि राजनीतिक द्धन्द्ध फुटवलको मैदानमा पनि परेको थियो । म्याराडोनाले इङ्ल्याण्डसँग युद्धमा हारेको बदला यहि खेलको मैदानबाट लिएका थिए ।

५१ औ मिनेटमा म्याराडोनाले हातले पहिलो गोल गरे । तत्काल त्यो हेड गोल जस्तो देखिएको थियो । तर पछि हातले नै गरेको प्रमाणित भयो । यो गोललाई उनले पछि भगवानको हातले गरेको भनेर वचाउ गरे । ५५ औ मिनेरमा म्याराडोनाले उत्कृष्ट गोल गरे । मैदानको मध्यभागबाट इङ्ल्याण्डका पाँच खेलाडीलाई एक्लै छक्यार गरिएको यो गोललाई फिफाले शताब्दीकै उत्कृष्ट घोषणा गरेको छ ।

अविश्वसनीय रूपमा बल नियन्त्रण गर्न सक्ने खुबी भएका म्याराडोनाले दुई विश्वकपमा अर्जेन्टिनाको कप्तानी गरे र दुवैमा फाइनलको यात्रा तय गरे । सन् १९७९ र १९८० मा उनी दक्षिण अमेरिकी वर्ष–खेलाडी घोषित भए ।
सैनिक तानाशाही भोगिरहेका अर्जेन्टिनाका जनतालाई म्याराडोनाले मुस्कुराउने अवसर दिए । उनी आफ्नो देशमासधै भगवान जस्तै मानिए । खेल जीवनको उत्तरार्थ म्याराडोनाका लागि सुखद रहेन ।

१९९० को बिश्वकप फाइनलमा पश्चिम जर्मनीसँग १–० ले पराजित भएको एक बर्षपछि नै नापोलीमा म्याराडोनाको करिअरले नयाँ मोड लियो । उनलाई कोकेन सेवन गरेको आरोपमा १५ महिना प्रतिबन्ध लाग्यो । यही वर्ष अर्जेन्टिनी पुलिसले आधा किलो कोकिनसहित उनलाई नियन्त्रणमा लियो ।

सन् १९९४ मा अमेरिकामा भएको विश्वकप म्याराडोनाका लागि गतिलो अवसर थियो । तर उनी त्यसमा असफल भए । डोपिङ्ग टेस्टमा असफल भएपछि देशका लागि उनको फुटबल करिअर समाप्त भयो । त्यसको ३ वर्षपछि उनले व्यवसायिक फुटबलबाट पनि सन्यासको घोषणा गरे ।

प्रशिक्षकका रुपमा नयाँ सुरुवात गर्न खोजेका म्याराडोना त्यसमा पनि सफल हुन सकेनन् । म्याराडोना पछि विवादका पर्याय जस्तै भइसकेका थिए । पत्रकारलाई गोली चलाए पछि उनलाई दुई वर्ष १० महिनाको जेल सजाय पनि सुनाइयो । लागु पदार्थ छाड्न नसकेपछि उनको स्वास्थ्य पनि नराम्ररी विग्रियो । उनलाई दुइ पटक सम्म हृदयाघात भएको थियो । तेस्रो पटकको हृदयाघातलाइ भने उनले जित्न सकेनन् ।

क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रो र भेनेजुएलाका पुर्व राष्ट्रपति ह्युगो चाभेजसँग उनको विशेष सम्बन्ध थियो । उनले क्युवाली नेता चेग्वेभाराको ट्याटुसमेत खोपेका थिए । त्यसैले विश्वभरका वामपन्थीका लागि पनि म्याराडोना प्रिय बने ।

पछिल्लो पटक उनले जीवनशैली निकै सुधार गरेका थिए । धेरै विवादमा पनि परेका थिएनन् । यसै महिना मष्तिस्कको शल्यक्रिया गराएर डिस्चार्ज भएका म्याराडोनाले अन्तत धेरै फुटबलप्रेमीलाई रुवाउँदै यो संसारबाट विदा लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्