आर्थिक

चार महिना नाघिसक्दा विकास खर्च केवल ८ प्रतिशत (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ८ गते १९:५३
चार महिना नाघिसक्दा विकास खर्च केवल ८ प्रतिशत (भिडियोसहित)

८ मंसिर, २०७७ काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना नाघिसक्दासमेत केवल ८ प्रतिशत मात्र विकास खर्च भएको छ । विकास खर्च हुन नसक्नुमा सरकारले कोरोना महामारीलाई कारण मानेको छ ।

तर कोरोना महामारीका माझ हालसम्म २४ प्रतिशत चालु खर्च भइसकेको छ जुन अघिल्लो वर्षभन्दा बढी हो । यसले कोरोनाले चालु खर्च गर्न कुनै अवरोध नपुर्‍याए पनि विकास खर्च गर्न छेकेको दाबीमा दम नभएको बरु सरकारी क्षमतामै समस्या रहेको देखाएको छ ।

महालेखा नियन्त्रक कार्यालयले मंसिर ७ गतेसम्ममा २९ अर्ब ७१ करोड रुपैयाँ विकास खर्च भएको जनाएको छ । जुन वार्षिक लक्ष्यको ८ प्रतिशत मात्रै हो । चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ विकास निर्माणका काममा खर्च गर्ने लक्ष्य राखेको छ । तर चालु आर्थिक वर्षको ४ महिना नाघिसक्दा समेत विकास खर्चको अवस्था निराशाजनक देखिएको हो ।

गत वर्ष झैं यो वर्ष समेत विकास खर्चको अवस्था कमजोर देखिएको हो । गत वर्ष सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ विकास बजेटमध्ये मंसिर ७ गतेसम्म साढे ६ प्रतिशत खर्च गरेको थियो । तर यस वर्ष सरकारले विकास खर्चमा सुधार ल्याउन विभिन्न व्यवस्था गरे पनि त्यसको प्रभाव नदेखिएको हो । सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै बजेटमा परेका आयोजनाको ठेक्का साउनमै निकाल्नुपर्ने व्यवस्था गरेको ‍छ ।

विकास खर्च
वार्षिक लक्ष्य : ३ खर्ब ५२ अर्ब रुपैयाँ
हालसम्मको खर्च : २९ अर्ब ७१ करोड रुपैयाँ
प्रतिशतमा हालसम्मको खर्च स: ८

चालु खर्च
वार्षिक लक्ष्य स: ९ खर्ब ४८ अर्ब रुपैयाँ
हालसम्मको खर्च : २ खर्ब ३३ अर्ब रुपैयाँ
प्रतिशतमा हालसम्मको खर्च : २४

ठेक्का प्राप्तिका लागि आवेदन दिने निर्माण कम्पनीको मुल्यांकन भदौभित्र गरेर असोज मसान्तभित्र ठेक्का सम्झौता गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । आयोजनाका सम्बन्धमा कुनै ऐन तर्जुमा वा संशोधन गर्नुपरे भदौभित्र सक्ने र असोज मसान्तसम्ममा मन्त्रिपरिषदमा पेश गरिसक्नु पर्नेछ ।

यस्तै सम्बन्धित सरकारी निकायले ठेक्का सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्ने गरी आयोजनालाई कार्यादेश दिनुपर्ने व्यवस्था समेत गरिएको छ । यसबाट कानुन अभाव, वर्खा र दशैंतिहारको बाहानावाजीमा काम नरोकिने अपेक्षा सरकारको थियो । ठेक्का सम्झौता सकिएपनि लामो समयसम्म कार्यआदेश नदिएर अड्काउने प्रवृति समेत अन्त्य हुने विश्वास थियो । यसरी सरकारले बजेटमा परेका सबै विकास निर्माणका काम कात्तिक १५ भित्रै सुरु भइसक्ने व्यवस्था गरेको थियो ।

तर त्यसका बाबजुद विकास खर्चमा कुनै सुधार आएन । सरकारको कोरोना महामारी र निषेधाज्ञाका कारण विकास खर्चमा सुधार नदेखिएको दाबी गर्दै आएको छ । अर्थ मन्त्रालयले आर्थिक बुलेटिन सार्वजनिक गर्दै कोरोना महामारीका कारण विकास निर्माणको काम प्रभावित भएकाले खर्च नबढेको जिकीर गरेको छ ।

तर कोरोनाले विकास निर्माणमा काम रोकेको दाबी गरिए पनि महामारीका माझ चालु खर्च गर्न भने सरकारलाई कोरोनाले छेकेको छैन् । यो वर्ष छुट्याइएको ९ खर्ब ४८ अर्ब रुपैयाँमध्ये हालसम्म २ खर्ब ३३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यो कुल बजेटको २४ प्रतिशत हो जुन गत वर्षको भन्दा बढी हो ।

गत वर्षको मंसिर ७ गतेसम्ममा कुल बजेटको २१ प्रतिशत खर्च भएको थियो । यसले विकास खर्च कम हुनुका पछाडि कोरोना भाइरसको महामारी नभएर सरकारी असक्षमता भएको पुष्टि गर्छ । लक्ष्य अनुरुप खर्च गर्न अबका बाँकी ८ महिनाभन्दा कम समयमा सरकारले ९२ प्रतिशत अर्थात ३ खर्ब २३ अर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ ।

यो निकै चूनौतिपूर्ण छ । यसले यो वर्ष पनि विकास बजेट खर्च हुन नसक्ने र असारे विकास गरेर रातारात बजेट सकाउने पुरानै दोहोरिने संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *