नेकपा विभाजन नहुने उपाध्यक्ष गौतमको दाबी (भिडियोसहित)
६ मंसिर, २०७७ तुलसीपुर, दाङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले आज गरेको भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो । “म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु” , उहाँले भन्नुभयो, “ मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।”
पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उहाँको भनाइ छ ।
उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो ।
उहाँले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने छ भन्नुभयो उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत बताउनुभयो ।
प्रतिक्रिया