चीनको आरोपप्रति कांग्रेसले जनायो कडा आपत्ति, सुनिल थापा सहमहामन्त्री मनोनित (भिडियोसहित)
२८ कात्तिक, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीमा विवादलाई कांग्रेसले उचालोको भन्ने चीनको आरोपप्रति कडा आपत्ति जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सीमा समस्याबारे नेपालमा रहेको चिनियाँ दूतावास र चीनको ग्लोबल टाइम्स पत्रिकामा आएको खबरको निन्दा गरेको हो ।
हुम्लामा चीनले सीमा मिचेको भनेर कांग्रेसकै नेतृत्वमा भारत र पश्चिमा देश निकटहरुले गलत हल्ला फैलाएको चिनियाँ दूतावास र ग्लोबल टाइम्स पत्रिकाको आरोप थियो । ग्लोबल टाइम्सले नेपाली कांग्रेसलाई भारतपरस्त पार्टीको रुपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप लगाएको थियो ।
कांग्रेसले जीवनबहादुर शाहीको टोलीले उठाएका मुद्दालाई समेत ध्यानमा राखी नेपाल चीन सीमा विवादबारे छानबिन गर्न समेत माग गरेको छ । यसैगरी बैठकले महँगी र कोरोना संक्रमण नियन्त्रणमा सरकार पूर्णत असफल भएको निष्कर्ष निकालेको छ । र उसले जिम्मेवार हुन सरकारलाई आग्रह पनि गरेको छ ।
बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापालाई सहमहामन्त्री मनोनित गरेको छ । यस्तै विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी, टीएन योगीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
मंसिर मसान्तसम्ममा पार्टीको सक्रिय सदस्यता टुंगो लगाएर केन्द्रमा पठाउन कांग्रेसले मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
यस्तै बैठकले हालै निधन भएका पार्टीका प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको ठाउँमा मोहनप्रसाद पाण्डेलाई पठाउने निर्णय गरेको छ ।
कांग्रेसले इलाम, उदयपुर, सिरहा, रुकुम पश्चिम लगायतका जिल्लामा कांग्रेसबाट उठेर स्थानीय तहको चुनाव जितेका र अहिले अरु पार्टीमा प्रवेश गरेकाको पद रिक्त गर्न निर्वाचन आयोगलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया