लामो विवादपछि नेकपा सचिवालय बैठक आज बस्दै

२८ कात्तिक, २०७७ काठमाडौं । पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आज नेकपाको सचिवालय बैठक बस्दैछ ।
प्रचण्ड र नेपालसहित सचिवालयका पाँच शीर्ष नेताको लिखित अनुरोध र दुईपटकको अनौपचारिक बैठकको दबाबपछि प्रधानमन्त्रीको समझदारीमा आज दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा प्रस्तुत हुने एजेन्डाबारे दुई अध्यक्षबीच सहमति नभएकाले प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बेग्लाबेग्लै आन्तरिक रणनीति बनाएका छन् ।
बैठकको एजेन्डा र छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाटार र अध्यक्ष प्रचण्डले निजी निवास खुमलटारमा निकट नेताहरूसँग हिजो बेग्लाबेग्लै परामर्श गरेका छन् ।
प्रचण्डले वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ र अन्य स्थायी कमिटी सदस्यसँग बेग्लाबेग्लै परामर्श गर्दै सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री ओलीको असफलता र स्थायी कमिटी निर्णय कार्यान्वयनका लागि उहाँको अवरोधक भूमिकाबारे विस्तृत रूपमै विषय उठान गर्ने तयारी गर्नु भएको छ ।
उता, प्रधानमन्त्री ओलीले पनि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग प्रचण्ड र नेपाल समूहले उठाउने विषयको प्रतिरक्षा र उपाध्यक्ष गौतमको सम्भावित भूमिकाबारे समेत परामर्श गर्नु भएको छ ।
गौतमलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना रहेकाले सचिवालयमा उहाँको भूमिका विवाद समाधानमा कम्तीमा तटस्थ रहने र अन्ततः सरकारलाई नै सहयोग गर्ने प्रधानमन्त्री ओलीकोे आँकलन छ ।
सर्वोच्च अदालतले राष्ट्रिय सभा सांसद र सरकारमा रहेर मन्त्रीका रूपमा काम गर्न पाउने गरी बाटो खुला गरेलगत्तै प्रधानमन्त्री ओलीले टेलिफोन गरेर गौतमलाई बधाई दिनुभएको थियो ।
स्थायी कमिटीमा विवाद चर्किएका वेला समाधानका लागि ६ बुँदे रोडम्याप राखेर पार्टी एकता बचाउने भूमिका खेलेकाले पनि गौतमले अन्तर्विरोध मत्थर बनाउने काममै भूमिका खेल्ने ओलीसहित उहाँ निकट नेताहरूले अपेक्षा गरेका छन् ।
प्रतिक्रिया