Political Hightlights

लामो रस्साकस्सीपछि सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि बस्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २७ गते २०:३१
लामो रस्साकस्सीपछि सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि बस्दै (भिडियोसहित)

२७ कात्तिक, २०७७ काठमाडौं । कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका सदस्यले पेलेरै औपचारिक बैठक राखेपछि अन्ततः प्रधानमन्त्री ओली तयार हुनुभएको छ । तर यसका लागि ठुलै विवाद भएको छ । बैठक बस्नकै लागि नेकपामा केके भयो त ? हेरौं टाइमलाइन–

ओली–प्रचण्डबीच संवादहीनता
एकलौटी मन्त्रिपरिषद पूनर्गठन, कर्णाली प्रदेशमा अविश्वास प्रस्ताव, स्थायी कमिटी बैठकका निर्णयको उपेक्षा गरेको भन्दै ओलीसँग प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि असन्तुष्ट थियो र छ ।

यही बीचमा भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपाल आएपछि अर्को विवाद थपियो । विवाद बढ्दै गएर ओली र प्रचण्डबीच संवादहीनताको अवस्था सिर्जना भयो, दुई नेताबीच ११ दिनसम्म छलफल समेत हुन सकेन ।

ओलीले बोलाउँदा समेत प्रचण्ड बालुवाटार जानु भएन, संवाद नै बन्द भएपछि ओलीले आफू निकट नेता दूतका रुपमा खुमलटार पठाउनुभयो । तर प्रचण्डले सामूहिक रुपमै छलफल गर्नुपर्नेमा जोड दिनुभयो । दूत बनेर गएका नेतासँग प्रचण्डले ओलीको भूमिकामाथि असन्तुष्टि व्यक्त गर्नुभयो ।

११ दिनपछि ओली र प्रचण्डबीच भेटवार्ता
ओलीको बारम्बारको प्रयासपछि प्रचण्ड कात्तिक १५ गते बालुवाटार जानुभयो । तर छलफल तीक्ततापूर्ण भयो । ओलीले आफूलाई हटाउन खोजिएको र प्रचण्डले पार्टी निर्णय नमानेको भनेर एक अर्काप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

विवाद बढेपछि सँगै बस्न सकिन्न भने अलग बाटो लागौं भन्नेसम्मका कुरा भए । त्यही भेटमै प्रचण्डले सचिवालय बैठक राखौं भन्ने प्रस्ताव गर्नुभयो, तर ओलीले अहिले बैठकको के काम भनेर अस्वीकार गर्नुभयो । कात्तिक १६ गते प्रचण्डले खुमलटारमा आफू निकट नेतासँग ओलीले छुट्टिउँ भनेर प्रस्ताव गरेको र बैठक नमानेको भनेर ब्रिफिङ गर्नुभयो ।

अर्कोतिर ओलीले पनि आफू निकटसँग प्रचण्डले प्रधानमन्त्री मागेको भनेर ब्रिफिङ गर्नुभयो । महासचिव विष्णु पौडेल लगायतकै नेताहरुले सार्वजनिक रुपमै पार्टी एकता संकटमा परेको भनेर बोले ।

एकाएक आयो राजीनामाको विषय
कात्तिक १९ गते एउटा सार्वजनिक कार्यक्रममा ओलीले आफ्नो राजीनामा मागिएको भन्दै कुनै हालतमा पनि पद नछाड्ने घोषणा गर्नुभयो । यसले अर्को तरंग सिर्जना गर्यो । ओलीले यसरी बोलेपछि प्रचण्डले बालुवाटार पुगेर कसैले राजिनामा नमागेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

त्यति मात्रै होइन, तपाइँको कुरा के हो ? बैठकमा राखौं भन्दै सचिवालय बैठकको प्रस्ताव गर्नुभयो । तर ओलीले फेरि पनि बैठकको काम छैन, पहिले हामी सहमति गरौं भन्ने अडान राख्नुभयो । प्रचण्डले अब सामूहिक नै बस्ने अडान दोहोर्याउनुभयो । त्यसपछि ओलीले सकेको गर्नोस भनेर प्रचण्डलाई चुनौती दिनुभयो ।

सचिवालयका बहुमत सदस्यको अलग बैठक
जति गर्दा पनि ओलीले नमानेपछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच कात्तिक २१ गते छुट्टै छलफल भयो ।

सधैं खुमलटार वा भैसेपाटी भेला हुने नेताहरु यसपटक पार्टी कार्यालय धुम्बाराहीमा बसे । यो अनौपचारिक बैठकले सचिवालय बैठकमा सहमत हुन सामूहिक रुपमै ओलीलाई दबाब दिने निर्णय गर्यो ।

२२ गते पाँच जना नेताले सामूहिक रुपमै भेटेर लिखित पत्र बुझाउँदै बैठकका लागि सहमत हुन आग्रह गरे । कार्यकारी अध्यक्ष प्रचण्डले बैठक बोलाउन सक्ने भएपनि उनीहरु ओलीको सहमति चाहान्थे । तर पनि ओलीले बैठक बस्न अस्वीकार गर्नुभयो ।

ओली र नेपालबीच भेटवार्ता
प्रचण्डसँग तीक्तता बढेपछि ओलीले २३ गते वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर फकाउने कोशिस गर्नुभयो । महाधिवेशनबाट अध्यक्ष र चुनावपछि प्रधानमन्त्री बन्न ओलीले नेपाललाई प्रस्ताव गर्नुभयो । तर नेपालले मान्नुभएन र बैठक बसाल्न नै जोड दिनुभयो ।

बैठकबाटै समाधान खोज्न नेपालको सुझाव थियो । त्यसो त कात्तिक १ र ९ गते प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकका लागि लिखित पत्र नै दिनुभएको थियो, यो विवादमा त्यसको समेत सुनुवाई भएन ।

ओलीको चलाखी र प्रचण्डद्वारा बैठक आह्वान
बारम्बार बैठक अस्वीकार गर्दै आएका ओलीले २४ गते चलाखी गर्नुभयो । आप्ना विरुद्ध दबाबका रुपमा आएको प्रचण्ड सहितका नेताको पत्रलाई मागका रुपमा व्याख्या गर्दै ओलीले त्यसमा तोक लगाएर विधान अनुसार बैठक बोलाउन महासचिव विष्णु पौडेललाई निर्देशन दिनुभयो ।

त्यही तोक बोकेर पौडेल प्रचण्डकहाँ जानुभयो । तर प्रचण्डले त्यसमा आपत्ति जनाएर ओलीले बहाना देखाउँदै टार्न खोजेको भन्दै त्यही दिन २५ गतेका लागि सचिवालय बैठक आह्वान गर्नुभयो ।

ओली र प्रचण्डबीच फेरि भेटवार्ता
कात्तिक २५ गते फेरि प्रचण्ड र ओलीबीच भेटवार्ता भयो । चार बजे धुम्बाराहीमा बैठक बोलाईसकेका प्रचण्ड र ओलीबीचको यो भेटपनि राम्रो भएन, आफ्ना विरुद्ध बैठकबाट एक्सन लिए आफूले महाएक्सन लिने ओलीले चेतावनी दिनुभयो ।

ओलीले तोक लगाएर विधान अनुसार बैठक बोलाउन भनेपछि त्यसको अपव्याख्या गरिएको भन्दै प्रचण्डले २७ गतेका लागि बैठक बोलाउन कार्यकारी अध्यक्षका रुपमा प्रस्ताव गर्नुभयो । तर ओलीले त्यसमा पनि असहमति जनाउनुभयो ।

पहिले औपचारिक भनिएको धुम्बाराही बैठक अनौपचारिकमा परिणत भयो र ओलीलाई २७ गतेको बैठकका लागि सहमत गराउन प्रयास गर्ने र नभए बैठक बस्ने निर्णय गर्यो । २६ गते ओली संखुवासभा जानु भयो भने प्रचण्ड नेपाल पक्षले बैठकको तयारी गर्यो ।

अन्ततः बैठकमा सहमति
लामो रस्साकस्सीपछि कात्तिक २८ गतेका लागि सचिवालय बैठक बोलाउने सहमति भयो, यसमा ओली र प्रचण्ड दुवैको सहमति बन्यो । प्रचण्डले आफूले बैठक बोलाउने चेतावनी दिएपछि महासचिव पौडेलले ओलीसँग परामर्श गरेर सहमतिमै बैठक बोलाएको बुझिएको छ ।

बिहीबार बैठक नरोकिने भएपछि ओली शुक्रबार बैठक बोलाउन सहमत हुनु भएको थियो । तर एउटा बैठकका लागि भएको यति ठूलो माथापच्चि हुनुले नेकपा अब सहज रुपमा अघि नबढ्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्