Political Hightlights

बिहीबार सचिवालय बैठक राख्न अध्यक्ष प्रचण्डको प्रस्ताव, ओलीको आनाकानी

हिमालय टिभी
२०७७ कार्तिक २५ गते १९:१५
बिहीबार सचिवालय बैठक राख्न अध्यक्ष प्रचण्डको प्रस्ताव, ओलीको आनाकानी

२५ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कात्तिक २७ गते बैठक बोलाउने प्रस्ताव गर्नुभएको छ ।

बालुवाटार पुगेर प्रचण्डले ओलीसँग दुई दिनपछि बैठक बोलाउन प्रस्ताव गर्नुभएको हो । प्रचण्डको प्रस्तावलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठकले अनुमोदन गरेको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेपनि ओली बैठकका लागि सहमत नभएको बताउनुभयो । तर पर्सि ओली उपस्थित हुने सचिवालयका बहुमत सदस्यको विश्वास छ ।

बैठकका लागि सहमति दिन बुझाएको लिखित पत्रलाई मागका रुपमा व्याख्या गरी तोक लगाउँदै अध्यक्ष ओलीले हिजो महासचिव विष्णुप्रसाद पौडेललाई बैठकको तयारी गर्न भनेपछि प्रचण्डले बैठकको मिति प्रस्ताव गर्नुभएको हो ।

ओलीले बैठक बोलाउने अधिकार आफूमा निहीत रहेको प्रष्ट सन्देश सहित विधानको धारा ५९ को उपधारा ४ टेकेर बैठक १५ दिन धकेल्न खोजेपछि प्रचण्ड पक्षले पनि प्रतिक्रिया दिएको छ । यो धारामा २५ प्रतिशत सदस्यले लिखित मागेमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक पन्ध्र दिनभित्र बोलाउनुपर्ने प्रावधान छ ।

आज प्रचण्डसँगको भेटमा पनि ओलीले महासचिवलाई बैठकको तयारी गर्न भनिसकेकाले पर्सि नै बैठक बस्नुपर्छ भन्ने नभएको जवाफ दिएको बुझिएको छ । पटकपटक ओलीलाई अल्टिमेटम दिएर समय थप्दै आएको प्रचण्ड–नेपाल समूहले ओली लचिलो नभएपछि फेरि दुई दिन कुर्ने निर्णय गरेको छ । तर यसलाई कमजोरी नठान्न पनि प्रचण्ड नेपाल समूहले ओलीलाई चेतावनी दिएको छ ।

प्रवक्ता श्रेष्ठले पर्सिका लागि ओली बैठक बस्न तयार नभएको बताएपनि वरिष्ठ नेता माधवकुमार नेपालले भने ओली बैठकका लागि तयार रहेको र बैठक बस्नुको विकल्प नभएको बताउनुभयो ।

आज पनि धुम्बाराहीमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । आजको छलफलमा पनि ओलीसहित अरु सदस्य उपस्थित भएनन् ।

कात्तिक २२ गते प्रचण्डसहित पाँच नेताले ओलीलाई भेटेर ४८ घण्टा भित्र बैठक बस्न सहमत हुन आग्रह गरेका थिए, तर त्यो अल्टिमेटम सोमवार सकिएपनि ओली बैठकका लागि तयार हुनुभएको छैन ।

ओली बैठकका लागि तयार नभएर भोलि संखुवासभा जाने भएपछि प्रचण्ड नेपाल समूहले पर्सिका लागि बैठक प्रस्ताव गरेको छ । तर ओलीले पनि कम्तीमा पन्ध्र दिन बैठक धकेलेर आफूले भने अनुसार बैठक बस्ने योजना बनाउनुभएको छ । यसले ओली र प्रचण्ड नेपाल पक्ष समय लिएर एक अर्कालाई गलाउने योजना बनाएको दखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्