Political Hightlights

ओलीको प्रस्ताव लिएर पौडेल खटिए, ठोस प्रस्ताव भने आउन सकेन

हिमालय टिभी
२०७७ कार्तिक २४ गते १९:०३
ओलीको प्रस्ताव लिएर पौडेल खटिए, ठोस प्रस्ताव भने आउन सकेन

२४ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच जना नेताले बैठक बोलाउन राखेको लिखित माग सम्बोधनको लागि महासचिव विष्णु पौडेललाई खटाउनुभएको छ । तर, ठोस प्रस्ताव तयार हुन सकेको छैन ।

फुटको डिलैमा पुगेको पार्टीलाई बचाउनको लागि भन्दै शनिबार प्रचण्डसहित बहुमत सदस्यले राखेको लिखित पत्र सम्बोधनका लागि महासचिव पौडेललाई प्रधानमन्त्री ओलीले खटाउनुभएको हो ।

कार्यकारी अध्यक्ष प्रचण्डलाई बैठक बोलाउन सहमति दिन सचिवालयका पाँच सदस्यले दिएको दुई दिने अल्टिमेटम सकिँदै गर्दा महासचिव पौडेल सक्रिय हुनुभएको हो । प्रधानमन्त्री ओलीको दूत बनेर महासचिव पौडेल सोमबार बिहान कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटार समेत पुग्नुभएको थियो ।

स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री ओली तयार रहेको जानकारी दिएका महासचिव पौडेलले प्रचण्डसँग बैठकको ठोस प्रस्ताव भने पेश गर्नुभएन । सचिवालयका बहुमत सदस्यले बुझाएको लिखित पत्रको म्याद आज सकिएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सोमबार साँझसम्म पनि आफूहरुले बुझाएको लिखित पत्रबारे प्रधानमन्त्रीबाट कुनै जवाफ नआएको जानकारी दिनुभयो । आज रातिसम्म लिखित पत्रको जवाफको आशामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुह रहेको छ ।

प्रधानमन्त्री ओलीले जवाफ नदिएको खण्डमा मंगलबार सचिवालयका बहुमत सदस्यको आन्तरिक छलफल गरेर थप रणनीति बनाउने योजनामा प्रचण्ड(नेपाल समुह रहेको छ । प्रचण्ड(नेपाल समुहले आज दिनभर पनि आन्तरिक छलफल गरेको थियो ।

यता पार्टी बैठकको निर्णय कार्यान्वयन नगर्दा समस्या दिएको भनेर आरोप खेपिरहेका प्रधानमन्त्री ओलीले पनि विघटित कार्यदलका सदस्य र आफू निकट नेताहरुसँग छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टी विवाद समाधानको लागि सहयोग गर्न वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह समेत गर्नुभएको थियो । कर्णाली प्रदेश र मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर बल्झिएको नेकपाको विवाद पछिल्लो समय विभाजनको डिलैमा पुगेको छ ।

प्रचण्ड(नेपाल समूहले बैठकबाट विवादको समाधान खोजिरहेको छ भने प्रधानमन्त्री ओली अझैसम्म तयार हुनुभएको छैन । र, नेकपामा संकट गहिरिँदो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्