Political Hightlights

प्रधानमन्त्री ओली पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्न तयार

हिमालय टिभी
२०७७ कार्तिक २४ गते १५:०७
प्रधानमन्त्री ओली पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्न तयार

२४ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन गर्न तयार रहेको बताउनुभएको छ ।

बिहान पहिले बनाइएको विवाद समाधान कार्यदलका सदस्यसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले स्थायी कमिटीका निर्णय मान्न तयार रहेको बताएको छलफलमा सहभागी नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक रहेको नेता पाण्डेले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा ओली निकट कार्यदल संयोजक महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो ।

स्वास्थ्य र व्यस्तताको कारण देखाउँदै प्रचण्ड निकट सदस्य जनार्दन शर्मा र पम्फा भुषाल भने सहभागी हुनुभएन । गत भदौमा सम्पन्न स्थायी कमिटीको निर्णय कार्यान्वयन नहुँदा समस्या आएको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यसँग छलफल गर्नुभएको हो ।

गत साउन ३० गते नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलको सुझावका आधारमा भदौ २६ गते स्थायी कमिटी बैठकले १५ बुँदे निर्णय गरेपछि संकट टरेको मानिएको थियो ।

तर, कर्णाली प्रदेश र मन्त्रिपरिषद् पुनर्गठन, रअ प्रमुखको नेपाल भ्रमणलाई लिएर नेकपा फूट नजिक पुगेको छ । कार्यदलका सदस्यले स्थायी कमिटीका निर्णय कार्यान्वयनमा दबाब दिइरहेका छन ।

स्थायी कमिटीका निर्णय कार्यान्वयन नहुँदा समस्या आएको कार्यदल सदस्यको बुझाई छ । त्यसैले उनीहरुले सामूहिक छलफल गरेपछि प्रधानमन्त्रीलाई भेटेको बताइको छ । प्रधानमन्त्रीपछि कार्यकारी अध्यक्षलाई पनि भेटेर कुरा राख्ने कार्यदलका सदस्यको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्