Political Hightlights

माधव नेपाल पक्षसँग सहकार्यका लागि प्रधानमन्त्री ओलीले गरे प्रस्ताव

हिमालय टिभी
२०७७ कार्तिक २३ गते १८:२५
माधव नेपाल पक्षसँग सहकार्यका लागि प्रधानमन्त्री ओलीले गरे प्रस्ताव

२३ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाइ भेटेर सहकार्यको प्रस्ताव गर्नुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा ओलीले पार्टी गम्भीर संकटमा रहेको भन्दै यसलाई बचाउन मिलेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पाँच नेताले सचिवालय बैठक बोलाउन लिखित रुपमा आग्रह गरेको भोलिपल्ट ओलीले वरिष्ठ नेता नेपालसँग छलफल गर्नुभएको हो ।

भेटमा नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि सहभागी हुनुभएको थियो । नेता रावलले भेटमा विचार आदानप्रदान भएको तर ठोस सहमति केही नभएको बताउनुभयो ।

वरिष्ठ नेता नेपालले पार्टी के कारणले फुटको संघारमा पुगेको हो त्यसको समस्क्षा गरेर समाधानको प्रस्ताव समेत ल्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो ।

यसअघि कडा रुपमा प्रस्तुत हुने गरेका प्रधानमन्त्री ओली आज नरम भएर पेश हुनुभएको सहभागी नेताले बताएका छन् । प्रचण्ड नेपाल पक्षले भोलिसम्म सचिवालय बैठकको मिति तय नभए नयाँ रणनीतिसहित अघि बढ्ने बताएकाले ओली केही नरम बन्नु भएको अनुमान गरिएको छ ।

हरेक पटक आफू संकटमा पर्दा ओलीले नेता नेपाललाई मिलेर अघि बढ्न आग्रह गर्दै आउनु भएको छ । यसअघि गत साउन ९, कात्तिक ५ र ११ गते पनि प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यको प्रस्ताव गर्नुभएको थियो । तर नेपाल पक्षले ओलीका कुरामा विश्वास गर्न नसकिने बताइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्