प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ नेता नेपाल पक्षसँग छलफल
२३ कात्तिक, २०७७ काठमाडौं । प्रधाममन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पाँच सदस्यले बैठक बोलाउन लिखित रुपमा आग्रह गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेपाल पक्षसँग छलफल गर्नुभएको हो ।
बालुवाटारमा भइरहेको छलफलमा वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी हुनुहुन्छ । हिजो बालुवाटारमा तिक्ततापूर्ण संवादपछि दूरी बढेका बेला आज भएको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बैठक नबोलाएको खण्डमा प्रचण्ड–नेपाल समूहले चाल्ने कदम रोक्न ओलीले नेता नेपालसँग छलफल गरेको अनुमान गरिएको छ ।
हरेक पटक आफू संकटमा पर्दा ओलीले नेता नेपालसँग मिलेर अघि बढ्न आग्रह गर्दै आउनु भएको छ । यसअघि गत साउन ९, कात्तिक ५ र ११ गते पनि प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गर्नुभएको थियो । तर नेपाल पक्षले ओलीका कुरामा विश्वास गर्न नसकिने बताइरहेको छ ।
नेता नेपालले पछिल्लो समय अध्यक्ष प्रचण्डसँग मिलेर ओलीमाथि दबाब बनाइरहनुभएको छ ।
प्रचण्ड, नेपालसहित, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले हिजो सामुहिक रुपमा प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन लिखित रुपमा माग गर्नुभएको थियो । तर, प्रधानमन्त्री ओलीले आफूविरुद्ध घेराबन्दी गरेको भन्दै बैठक बोलाउन अस्वीकार गर्नुभएको छ ।
प्रतिक्रिया