नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज पनि बस्दै
२१ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रका विषयमा छलफल गर्न हिजो बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बैठक आज पनि बस्ने भएको हो।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मध्यान्ह साढे १२ बजे बस्ने कांग्रेसले जनाएको छ। हिजोको बैठकमा सभापति देउवाले विभाग गठनको निर्णय फिर्ता नहुने बताउनु भएको थियो ।
विभागबाहेक अन्य विवादित मुद्दामा छलफल गर्न सकिने देउवाको भनाइ थियो। विधान अनुसार २८ हुनुपर्ने विभागलाई ४७ पुर्याइएको छ। २० विभागका प्रमुख र सदस्यलाई देउवाले मनोनयन गरिसक्नु भएको छ ।
हिजोको बैठकबाट पनि आफूहरु आशावादी नभएको वरिष्ठ नेता पौडेल पक्षले जनाएको छ। पौडेल पक्षले पेश गरेको १६ बुँदे असहमतिपत्रमा छलफल भए पनि संस्थापन पक्ष विगतको निर्णयको बचाउमै देखिएको छ।
पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा विवाद नमिलेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तीन दिन पर धकेलिएको छ ।
पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने तय भएको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि सारिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो ।
प्रतिक्रिया