आर्थिक

३८ करोड लागतमा यसरी बन्दैछ नेपालगञ्जमा वाटर फनपार्क (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १८:०८
३८ करोड लागतमा यसरी बन्दैछ नेपालगञ्जमा वाटर फनपार्क (भिडियोसहित)

१३ कात्तिक, २०७७, नेपालगञ्ज । कोरोनाका कारण अधिकांश पर्यटन व्यवसायी निराश भइरहेका बेला नेपालगन्जका युवा पर्यटन व्यवसायी डाक्टर ओमप्रकाश मिश्राले करिब ३८ करोडको लागतमा नेपालगन्जमा वाटर फन पार्कसहित सुविधा सम्पन्न मनोरञ्जनस्थल निर्माण गरिरहनुभएको छ । मेरो प्लानेट नामको मनोरन्जन पार्कमा दैनिक ४०–४५ जना मजदुर काममा जुटिरहेका छन् । वाटर फनपार्क निर्माण कार्य ९० प्रतिशतभन्दा बढी पुरा भयसकेको छ ।

वर्ष दिनमा झन्डै ८ महिना नेपालगन्जलगायत बढी गर्मी हुने क्षेत्रका बासिन्दाहरु गर्मीबाट बच्ने र रमाउने उपाय खोजिरहेका हुन्छन् । गर्मीबाट राहत पाउने एउटा माध्यम पौडी पनि हो । तर कोरोना कहरका कारण नेपालगञ्जका बासिन्दाले यो पटक पौडीको मज्जा लिन पाएका छैनन् । तैपनि भविश्यमा कोरोना कहर हट्छ भन्ने आशामा नेपालगञ्जमा पौडी पोखरी र मनोरञ्जनस्थल निर्माण भइरहेको छ ।

त्यस्तै एउटा स्थल हो फ्रेस वाटर फन पार्क । यहाँ साना ठुला गरेर ४ वटा स्वीमिङ पुल छन् । सबैभन्दा ठुलो स्वीमिङ पुलको लम्बाइ र चौडाइ ५०–५० मिटर छ । गर्मीमा पौडी खेल्दै रमाउने उपाय खोजिरहेकाहरुलाई लक्षित गरेर नेपालगन्जमा ठुलो लगानीमा वाटर फन पार्कसहित सुविधा सम्पन्न मनोरञ्जनस्थल निर्माण भइरहेको छ ।

करिब साढे ३ बिद्या क्षेत्रफलमा फैलिएको मनोरन्जन पार्कमा फ्रेस वाटर फन पार्कदेखि सुविधा सम्पन्न रेष्टुरेन्ट, कार्यक्रम हलदेखि गेष्ट हाउसहरु निर्माण भइरहेका छन् । मेरो प्लानेट पार्कका ४ स्वीमिङ पुलहरुमा एक पटकमा २ हजार ५ सय जनाले वाटर फन पार्कको आनन्द लिन सक्ने छन् ।
विभिन्न रोमान्चक खेलहरु खेल्दै वाटर फन पार्कको मज्जा लिनका लागि करिब ६ देखि ८ घन्टा लाग्ने छ । सामान्य अवस्थामा भारतका विभिन्न शहरबाट दैनिक ३ देखि ५ हजार भारतीय नागरिक नेपालगन्ज आउछन् । कोरोना संक्रमणका कारण लामो समयदेखि मानिस घर तथा आफ्नै शहरमा बस्न बाध्य भए पनि कोरोना संक्रमण नियन्त्रणमा आउना साथै पर्यटन उद्योगले फड्को मार्ने पर्यटन व्यवसायीको विश्वास छ ।

नेपालगन्जबाट हुम्लाको सिमकोट हुँदै भारतीय पर्यटक कैलाश मानसरोवरको यात्रामा जान्छन् । मौसम प्रतिकुल भएका कारण हवाई उडान नहुँदा दैनिक ५ सयसम्म पर्यटक नेपालगन्ज मै रोकिन्छन् । कैलाश मानसरोवरको यात्रामा निस्किएका भारतीय पर्यटकलाई लक्षित गरेर मनोरन्जन पार्क निर्माण गरिएको हो । अहिलेको कठिन समय छिट्टै हटेर जाने र पूर्ववत् रुपमा व्यापार व्यवसाय फस्टाउने आशामा पर्यटन व्यवसायी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *