Political Hightlights

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव गरेको असन्तुष्ट पक्ष आज छलफलमा

हिमालय टिभी
२०७७ असोज २७ गते १३:०४
कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव गरेको असन्तुष्ट पक्ष आज छलफलमा

२७ असोज, २०७७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराएको असन्तुष्ट पक्षले आज त्यसबारे बैठक बसेर छलफल गर्दैछ ।

अविश्वास प्रस्तावको विषयमा आज छलफल हुने हस्ताक्षर गर्ने १८ मध्येकी एक प्रदेश सांसद देवी ओलीले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले हटाएपनि निवर्तमान प्रमुख सचेतक गुलाबजंग शाहले भने प्रमुख सचेतककै हैसियतमा आजको बैठक बोलाउनुभएको छ ।

आज अविश्वास प्रस्तावका विषयमा छलफल हुने र शाहीलाई संसदीय दलको नेताबाट हटाउने सांसद ओलीको दावी छ । शाही पक्षले आज बस्ने बैठक अवैधानिक भनेको छ ।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु विवाद मिलाउने प्रयास जारी राखेका छन ।

नेपाल पक्षका नेताहरु प्रकाश ज्वाला, निरज आचार्य र ध्रुब शाही तथा प्रचण्ड पक्षबाट मुख्यमन्त्री शाही, नेकपा कर्णाली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा र प्रदेश सांसद बिन्दमान बिष्ट लगायतले विवाद मिलाउने प्रयास जारी राख्नुभएको छ ।

सकेसम्म प्रचण्ड र नेपाल पक्षका सांसदलाई हस्ताक्षर फिर्ता गराउन सके संकट टर्ने उनीहरुको विश्लेषण छ । सहमति भए मुख्यमन्त्री शाही फेरि बहुमतमै देखिनुहुनेछ ।

प्रचण्ड र नेपाल समूह मिले अविश्वास प्रस्ताव नै संकटमा पर्नेछ । त्यसैले ओली पक्षका केन्द्रीय नेताहरुले अविश्वास प्रस्तावको अगुवाई गरेका यामलाल कंडेललाई फोन गरेर प्रस्ताव अघि नबढाउन र छलफल नगर्न भनेका स्रोतले जनाएको छ ।

संसदमा प्रस्ताव गएर परिक्षण नभएपनि ३२ मध्ये १८ सांसद मुख्यमन्त्री शाही विरुद्ध देखिएका छन । प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रदेश सांसद यामलाल कंडेलको नेतृत्वमा १८ सांसदले अस्ति संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेपछि विवाद चर्केको छ । कर्णाली प्रदेशको असर अरु प्रदेशमा पनि देखिने सम्भावना बढेको छ ।

पूर्व एमालेको तर्फबाट मुख्यमन्त्री पाएका प्रदेश १ र वाग्मती प्रदेशमा पहिलेदेखि नै असन्तुष्टि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्