सत्तारुढ नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित
१८ असोज, २०७७ काठमाडौं । राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनलगायतका एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
आज चार बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएपछि अनिश्चतकालका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अर्को बैठकको मिति भने तय भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार, सचिवालयका कर्मचारी र ६७ जना भन्दा बढी सुरक्षाकर्मीमा एकैपटक कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री ओली शनिबारदेखि नै आइसोलनमा हुनुहुन्छ । ओलीले सबै भेटघाट बन्द गरेपछि पार्टी सचिवालय बैठक स्थगित गरिएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले सरकारले हालै गरेका राजनीतिक नियुक्तिमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
मुख्यसचिव र तीन राजदूतको नियुक्ति पार्टी स्थायी कमिटीको निर्णयको मर्मविपरित भएको उनीहरुको तर्क छ । र, यही विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो ।
प्रतिक्रिया