बामदेव गौतमविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, बुधबार सुनुवाई हुने
१६ असोज, २०७७ काठमाडौं । चुनाव हारेर पनि राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटमाथि सुनुवाई सर्वोच्च अदालतले आज पनि हेर्दाहेर्दैमा राखेको छ । र उहाँको सुनवाई अब बुधबार मात्र हुने छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठन भएको पाँच सदस्यीय संवैधानिक इजलासमा आज बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
आज दुई जना सरकारी वकिल र गौतमका पक्षबाट तीन जना कानून व्यवसायीले बहस गरेका थिए । अब बाँकी बहस बुधबार हुने छ ।
यसअघि गत बुधबार पनि बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो ।
प्रतिनिधिसभा सदस्यमा पराजित भएका गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नु असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको थियो ।
सोही रिटको सुनुवाई गर्दै असोज ७ गते न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासले गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै संवैधानिक इजलाशमा पठाएको थियो ।
सर्वोच्चले गौतमका हकमा तत्कालका लागि सांसदका रुपमा कुनै पनि थप संवैधनिक जिम्मेवारी नदिनु भन्ने आदेश भने यसअघि नै दिइसकेको छ ।
प्रतिक्रिया