Political Hightlights

संवैधानिक निकायमा तत्काल पदपुर्ति गर्न प्रधानमन्त्रीलाई नेकपा सचिवालयको आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ६ गते १६:१०
संवैधानिक निकायमा तत्काल पदपुर्ति गर्न प्रधानमन्त्रीलाई नेकपा सचिवालयको आग्रह (भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।

नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानिक व्यवस्थाअन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न सरकारलाई आग्रह गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्को बैठक छिट्टै राखेर संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको बताउनुभयो ।

त्यस्तै संवैधानिक परिषद्को बैठकलाई नियमित रुपमा सञ्चालन गर्न र संवैधानिक निकायका पदपूर्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गरेको श्रेष्ठले बताउनुभयो ।

यसबाहेक पार्टीको साङ्गठनिक एकीकरणका बाँकी काम पुरा गर्न १० दिन भित्र अध्यक्ष द्वय र महासचिवले ठोस प्रस्ताव सचिवालयको बैठकमा प्रस्तुत गर्ने र त्यसका आधारमा छलफल गरी सचिवालयले टुङ्गो लगाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयको सन्दर्भमा दुई तीन दिन भित्रमा बैठक बसी निर्णय गर्ने निष्कर्ष पनि निकालेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै स्थायी कमिटीको बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन प्रक्रियामा लैजाने सन्दर्भमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकले पार्टी भित्रको एकता, समझदारी र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारको कामलाई प्रभावकारी ढंगले अगाडि बढाई सरकारको विश्वसनियता अझबढी बनाउने र सरकारलाई अझ सफल बनाउने दिशा तिर अगाडि बढ्ने विश्वास र अपेक्षा पनि बैठकले गरेको श्रेष्ठले बताउनुभयो ।

बैठकले मन्त्रिमण्डल पुनरगठनको सम्बन्धमा कुनै छलफल नगरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्