मन्त्री हेरफेरलगायतका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै
४ असोज, २०७७ काठमाडौं । सरकारमा रहेका मन्त्री हेरफेर लगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ ।
गत शुक्रबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यस्ताताका कारण आजका लागि सारिएको थियो । बैठक दिउँसो तत्कालिन माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
दुई पार्टी एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी बनेपछि पहिलोपटक तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठकको लागि बिहीबार नै भौतिक दूरी कायम गरेर टेबुल, कुर्सी मिलाइसकिएको छ।
पहिलो पटक पेरिसडाँडामा बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेतको उपस्थिति हुने भएकोले सुरक्षा व्यवस्था कडा बनाइने भएको छ ।
पार्टी एकीकरण भएको दुई वर्षभन्दा बढी भए पनि पार्टी अध्यक्ष एबं प्रधानमन्त्री ओली अहिलेसम्म कुनै पनि औपचारिक कार्यक्रमका लागि पेरिसडाँडा जानु भएको छैन ।
बैठकको तयारी र एजेण्डाका विषयमा यसअघि नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच छलफल भइसकेको छ ।
बैठक मुख्यगरी प्रदेश र संघीय सरकारमा रहेका मन्त्री हेरफेर, रिक्त संबैधानिक आयोगमा पदाधिकारी नियुक्ती र पार्टी एकताका बाँकी काममा केन्द्रित हुने बताइएको छ ।
प्रतिक्रिया