Political Hightlights

नेकपा सचिवालय बैठक बस्दै, मन्त्री हेरफेरलगायतका विषयमा छलफल हुने

हिमालय टिभी
२०७७ असोज २ गते ७:३०
नेकपा सचिवालय बैठक बस्दै, मन्त्री हेरफेरलगायतका विषयमा छलफल हुने

२ असोज, २०७७ काठमाडौं । सरकारमा रहेका मन्त्री हेरफेर लगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ ।

दुई पार्टी एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी बनेपछि पहिलोपटक तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे कार्यालयको सबैभन्दा माथिल्लो तलामा राख्ने गरी तयारी गरिएको छ । पार्टी एकीकरण हुनुअघि पूर्व माओवादी केन्द्रका केन्द्रीय तहका बैठक त्यही हलमा हुने गरेका थिए ।

सचिवालय बैठकको लागि हिजो नै भौतिक दूरी कायम गरेर टेबुल, कुर्सी मिलाइसकिएको छ।

बैठकस्थल वरपर सुरक्षाव्यवस्था कडा बनाइएको छ। सचिवालयका नौ सदस्यबाहेक अरुलाई प्रवेश निषेध गर्ने निर्देशन दिइएको छ। बैठक सुरु भएपछि मुख्य गेट बन्द गर्न सुरक्षाकर्मीलाई निर्देश गरिएको छ। बैठकस्थल र वरपरको सुरक्षा व्यवस्था प्रधानमन्त्री कै सुरक्षा टीमले गर्ने बताइएको छ।

पहिलो पटक पेरिसडाँडामा बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेतको उपस्थिति हुने भएकोले सुरक्षाकर्मीको संख्या बढाइएको हो।
बैठकको तयारी र एजेण्डाका विषयमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच हिजो छलफल भएको थियो ।

बैठक मुख्यगरी प्रदेश र संघीय सरकारमा रहेका मन्त्री हेरफेर, रिक्त संबैधानिक आयोगमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाँकी काममा केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्