नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य नियुक्त
१ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त एक सदस्यमा नेकपा उपाध्यक्ष गौतमलाई नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजो पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नुभएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुनेछ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित हुनुभएको थियो । नेकपाको फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने एक पदमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
पार्टी निर्णयको ७ महिनापछि सो निर्णय कार्यान्वयन भएको छ। यस विचमा गौतमले सांसद बन्न विभिन्न चलखेल समेत गर्नुभएको थियो ।
प्रतिक्रिया