नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक
३० भदौ, २०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ ।
पार्टीले अन्तरपार्टी निर्देशन – ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो ।
नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसंस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन – ५ मा रोक लगाउने निर्देशन दिएको हो । केन्द्रमा भने कुनै रोक लगाइएको छैन ।
पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, जीवराज आश्रित, नरबहादुर कर्माचार्य, निर्मल लामा, सुरेश वाग्ले, कृष्णसेन इच्छुक मोतीदेवी, सहाना प्रधान, झलनाथ खनाललगायत नाममा त्यस्ता संस्था खोलिएका छन् । तिनमध्ये केहीका केन्द्रमा मात्र र केहीका जिल्लाहरुमा पनि शाखा खोलिएका छन् ।
“पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्थाहरु परिचालित छन् । तीमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानलाई नियमन गर्न जरुरी छ”, अन्तरपार्टी निर्देशन – ५ मा भनिएको छ । पार्टी सचिवालय बैठकले प्रतिष्ठानसम्बन्धी अध्ययन गर्न कार्यदल बनाएर प्रतिवेदन सार्वजनिक नगरेसम्म तिनका शाखा गठन र गतिविधि नगर्न निर्देशन दिएको हो ।
अन्तरपार्टी निर्देशन – ५ मा सचिवालयले प्रतिष्ठानको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहितको कार्यदल गठन गर्ने उल्लेख गरिएको छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसमाथि छलफल गरी प्रतिष्ठानबारे आवश्यक निर्णय गर्ने जनाइएको छ ।
नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले नेताका नाममा प्रतिष्ठान खोल्नु राम्रो भए पनि त्यसबाट पार्टीलाई नै नोक्सान पु-याउने किसिमको गुटबन्दी गर्न नहुने बताउनुभयो । उहाँले नेताका नाममा खोलिएका अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अङ्कुश लगाउनुपरेको स्पष्ट गर्नुभयो ।
“नेताका नाममा खोलिएका प्रतिष्ठानले तिनै नेताको विचार र आदर्शलाई प्रचारप्रसार र तिनले पु¥याएको योगदानको चर्चा गर्दै वैचारिक बहस गर्नुपर्ने हो ”, उहाँले भन्नुभयो, “ तर त्यसरी खोलिएका प्रतिष्ठानले नेताहको विचार र आदर्शलाई भुलेर पार्टीभित्र गुटबन्दी गर्न थालेकाले व्यवस्थित बनाउन अहिलेलाई रोक लगाइएको हो ।”
उहाँले प्रतिष्ठानले पार्टीको नीति बाहिर रहेर समानान्तर गतिविधि सञ्चालन गर्न थालेकाले व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेताका नाममा स्थापना हुने प्रतिष्ठानलाई पार्टी मातहत ल्याएर सञ्चालन गर्नुपर्ने धारणा पनि राख्नुभयो । तत्कालीन नेकपा (एमाले)ले पनि प्रतिष्ठानलाई व्यवस्थित बनाउनका लागि भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले तयार पारेको ‘प्रतिष्ठान सञ्चालन निर्देशिका’ प्रतिवेदन केन्द्रीय कमिटीमा बुझाउन नपाएको उहाँले गुनासो गर्नुभयो । उहाँ आफूले त्यतिबेला प्रतिवेदन बुझाउन पाएको भए प्रतिष्ठानलाई व्यवस्थित गर्न सकिने बताउनुहुन्छ ।
उहाँका अनुसार उक्त निर्देशिकामा प्रतिष्ठान पार्टी मातहत सञ्चालन गर्नका लागि प्रतिष्ठान समन्वय कमिटी गठन गर्ने उल्लेख थियो । पूर्वएमाले र माओवादी पार्टीले निर्णय गरेर प्रतिष्ठान वा सङ्घसंस्था स्थापना गरेका छन् । कतिपय नेताले आफूखुशी दिवङ्गत नेताका नाममा प्रतिष्ठान, फाउण्डेशन र अध्ययन केन्द्र जस्ता स्थापना गर्ने गरेको पाइएको छ ।
अर्का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीका नेताका नाममा प्रतिष्ठान वा कुनै सङ्घसंस्था स्थापना गर्नु आवश्यक रहे पनि त्यसका नाममा पार्टीभित्र गुटबन्दी गर्नु पार्टीकै हित विपरीत हुने बताउनुभयो ।
उहाँ प्रतिष्ठानलाई पार्टीकै गतिविधि नगरी गैरराजनीतिक क्रियाकलाप गर्न छुट दिनुपर्ने सुझाव दिनुहुन्छ । पार्टीभित्र विद्यमान प्रतिष्ठानले गुटबन्दी गरेकाले त्यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया