Political Hightlights

नेकपा अध्यक्षद्वयद्वारा भोलिको स्थायी कमिटीमा पेस गर्ने सहमतिको प्रस्ताव तयार

हिमालय टिभी
२०७७ भदौ २५ गते ८:०७
नेकपा अध्यक्षद्वयद्वारा भोलिको स्थायी कमिटीमा पेस गर्ने सहमतिको प्रस्ताव तयार

२५ भदौ, २०७७ काठमाडौं । भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठकका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो कार्यविभाजनसहित सहमतिको प्रस्ताव तयार पारेका छन् ।

पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा परिमार्जन गर्दै ओली र प्रचण्डले तीन महिना लामो पार्टी विवाद टुंग्याउने गरी १५ पेजको सहमतिको प्रस्ताव तयार पार्नु भएको हो ।

ओली र प्रचण्डबीच हिजो भएको छलफलबाट सहमतिको प्रस्तावलाई अन्तिम रूप दिएर स्थायी कमिटी सदस्यलाई अध्ययनका लागि पठाइएको छ ।

कार्यदलको प्रतिवेदन र पछिल्लो सचिवालयमा नेताहरूको सुझावअनुसार अध्यक्षद्वयले प्रस्ताव तयार पारेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

प्रचण्डलाई कार्यकारी भूमिका स्पष्ट रूपमा दिइएको प्रस्तावमा पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित गरिएको छ ।

ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारको नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुनुहुनेछ। मूलतः भन्ने शब्दप्रति वरिष्ठ नेता माधवकुमार नेपालसहित केही नेताले असन्तुष्टि जनाएपछि नयाँ प्रस्तावमा त्यसलाई हटाइएको छ ।

सदस्यहरूलाई इमेलमा पठाइएको प्रस्तावमा स्थायी कमिटीका लागि पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, एकताको राष्ट्रिय महाधिवेशन गर्ने, संसदीय दलको भूमिकालाई थप प्रभावकारी बनाउने लगायत बुँदा छन् ।

त्यस्तै, आगामी चुनाव अहिलेभन्दा अनुकूल हुने गरी तीनवटै तहको सरकारलाई गतिशील र कामहरूलाई प्रभावकारी बनाउन मापदण्डका आधारमा संघीय र प्रदेश तहको मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्