Political Hightlights

कांग्रेसमा किचलो : देउवाविरुद्ध आमरण अनशनमा बस्ने पौडेल पक्षको तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २१ गते २०:३८
कांग्रेसमा किचलो  :  देउवाविरुद्ध आमरण अनशनमा बस्ने पौडेल पक्षको तयारी (भिडियोसहित)

२१ भदौ, २०७७, काठमाडौं । असहमतिका बाबजुद सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन कायमै राखेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका असन्तुष्ट समूह देउवा विरुद्ध आन्दोलनको तयारी लागेको छ । देउवालाई रोक्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले धर्ना, अनशन देखि आमरण अनशन बस्ने तयारी गरेको छ ।

पार्टीको १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक भइसकेपछि सभापति शेरबहादुर देउवाले विभाग गठन र भटाभट मनोनयन गरिरहनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डाक्टर शशांक कोईरालाले पटक पटक विरोध गरेपनि देउवा रोकिनुभएको छैन ।

विरोधका बाबजुद देउवाले ४७ मध्ये २० वटा विभागमा ९ सय नेता कार्यकर्तालाई जिम्मेवारी दिईसक्नुभएको छ । यसबाट पौडेल पक्ष आक्रोशित छ । देउवा महाधिवेशनबाट नेतृत्व हत्याउने खेलमा लागेको निष्कर्षमा पुगेको पौडेल समूह अब आन्दोलनमै उत्रिने तयारी गरेको छ । सात दिन भित्र देउवाले निर्णय नसच्याए आमरण अनसनमा समेत बस्ने उसको चेतावनी छ ।

विभाग गठन, क्रियाशील सदस्यता वितरणमा अपारदर्शीता, भ्रातृ संस्थाको म्याद थप गर्दा गलत निर्णय यो समूहको निष्कर्ष छ । केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवन परियार र बद्री पाण्डे सम्मिलित कार्यदलले आप्नो समूहको नेतृत्वलाई यही निष्कर्ष सहितको प्रतिवेदन बुझाईसकेको छ । र, यही कार्यदलको सुझावका आधारमा देउवा विरुद्ध आन्दोलन थाल्ने पौडेल पक्षको तयारी छ । स्वयं विधिमा विश्वास गर्ने देउवा पक्षका नेता कार्यकताको पनि साथ पाउने पौडेल पक्षको विश्वास छ ।

पछिल्लो पटक साइलेन्ट रहेका कृष्णप्रसाद सिटौलाको पनि साथ रहने संकेत देखिएको छ । किनकी पौडेल पक्षको जुम मिटिङमा सिटौला निकटका गगन थापा प्रदीप पौडेल र उमाकान्त चौधरीको सहभागीताले देउवाविरुद्धको लडाईंमा इतर पक्ष एक रहेको प्रष्ट सन्देश दिएको छ । नेता प्रदीप पौडेलका अनुसार देउवाका विरुद्ध अहिलेसम्म नमिलेकाहरु पनि मिल्ने अवस्था आएको छ ।

कोरोना संक्रमणको महामारीका कारण महाधिवेशन तोकिएकै मितिमा हुने वा नहुने कुनै टुङ्गो छैन । तर, संस्थापन र असन्तुष्ट पक्ष बीचको रस्साकस्सी चर्किँदै गएको छ । र, यसको केन्द्रमा महाधिवेशनबाट कसरी नेतृत्व आउने भन्ने दाउ अन्तरनिहीत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्