Political Hightlights

नेकपाको सचिवालय बैठक–सबै नेताका आ–आफ्ना दाउ (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १७ गते २०:३४
नेकपाको सचिवालय बैठक–सबै नेताका आ–आफ्ना दाउ (भिडियोसहित)

१७ भदौ, २०७७ काठमाडौं । कार्यदल प्रतिवेदनमाथि छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि बस्दैछ । तर, पार्टीभित्र बल्झिएको विवाद हेर्दा बैठकमा अन्य विषयले प्रवेश पाउने र कार्यदलको प्रतिवेदन अलपत्र पर्ने सम्भावना छ ? कार्यदलले बुझाएको प्रतिवेदन बाहेक नेकपाको सचिवालय बैठकमा के(के विषयमा छलफल हुँदैछ त ?

सत्तारुढ नेकपाको सचिवालय बैठक विहीवार बस्दैछ । पार्टी फुटबाट जोगाउन भन्दै नेकपा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नु बैठकको मुख्य एजेण्डा हो ।

प्रतिवेदनमा दुई अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद् हेरफेरलगायतका संगठनात्मक काम गरेर विवाद सुल्झाउन प्रस्ताव गरिएको छ । तर पछिल्ला केही दिनमा देखिएका संकेत अनुसार बैठकमा अरु विषय आउने प्रबल संभावना छ , जसले मुख्य एजेण्डा नै प्रभावित हुने हो कि भन्ने आँकलन छ । किनकी विभिन्न नेताहरुका फरक फरक चासो प्रकट भैसकेका छन ।

भोलि बस्ने नेकपाको सचिवालय बैठकमा एजेन्डा के–के छन् त
?

–कार्यदलले बुझाएको सुझाव प्रतिवेदनमाथि छलफल
–कार्यदल गठन भएपछि सरकारले गरेको नियुक्ति खारेजीको विषय
–एक व्यक्ति एक मुख्य जिम्मेवारीको विषय
–अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने या नदिने भन्ने विषय
–उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा जाने पूर्व निर्णय
–कार्यदलको प्रतिवेदन स्थायी कमिटीमा लैजाने कि नजाने भन्ने विषय
–मन्त्रिपरिषद पूर्नगठनको विषय
–कार्यदलको प्रतिवेदनलाई संशोधन गर्ने कि यथास्थितिमा पारित गर्ने भन्ने विषय
–कार्यदलको प्रतिवेदनलाई स्थायी कमिटीमा लैजाने कि नलैजाने भन्ने विषय

संकट टरेपछि सुरक्षित अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल प्रतिवेदन भन्दा अहिले अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई निरन्तरता दिने विषय सचिवालयबाट पारित गराउने पक्षमा हुनुहुन्छ ।

सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा सदस्यको पदावधि सकिइसकेका खतिवडाको पदावधि भदौ २० गते सकिँदैछ । मन्त्रीमा खतिवडालाई निरन्तरता दिने हो भने सरकारले २० गतेअघि नै राष्ट्रियसभा सदस्यमा सिफारिस गर्नुपर्छ । यसैले कार्यदल प्रतिवेदनभन्दा बैठकमा प्रधानमन्त्री ओलीको पहिलो चासो खतिवडामा छ ।

र, स्रोतका अनुसार ओलीले सरकार तर्फबाट खतिवडाको नाम यसअघि नै राष्टपति समक्ष पठाई सक्नुभएको छ । तर वामदेव गौतमको राष्टिय सभामा जाने पछिल्ला अडानका कारण ओलीलाई केही अफ्ठेरो भएको छ । किनकी ओली र प्रचण्ड दुवैसित गौतमले आफ्ना अडान राख्नुभएको छ ।

अर्का अध्यक्ष प्रचण्डको चासो पनि बैठकमा अर्कै देखिन्छ । आफ्नो कार्यकारी भूमिकाको प्रष्टता त छँदैछ, कार्यदल गठनपछि ओलीले गरेका राजनीतिक नियुक्तिमा ओलीको गम्भीर असन्तुष्टि छ ।

अर्थमन्त्री खतिवडालाई नै राष्टिय सभामा निरन्तरता दिने ओलीको तयारीमा पनि प्रचण्डले असन्तुष्टि व्यक्त गर्नुभएको छ । सोमवारको भेटमा प्रचण्डले ओलीलाई पार्टी निर्णय विपरित काम नगर्ने सचेत गराईसक्नुभएको छ । अर्थात गौतमलाई पठाउनुपर्ने पक्षमा प्रचण्ड हुनुहुन्छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले पहिलेदेखि उठाउँदै आएको एक व्यक्ति एक मुख्य जिम्मेवारीको मागलाई फेरि उठाउनु तयारी गर्नुभएको छ । कार्यदलको प्रतिवेदनप्रति असन्तुष्ट नेपालले बैठकमा उठाउने विषयमा आफूनिकट नेताहरुसँग छलफल गरिरहनुभएको छ । मन्त्रिपरिषद पूर्नगठनमा चित्त बुझाउने कि आफ्नो एजेन्डामा केन्द्रीत हुने भन्ने चुनौतीमा रहेका नेपालले बैठकमा राख्ने विषय अर्थपूर्ण हुने मानिएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल चाहिँ पार्टी निर्णयको कार्यान्वयन, मन्त्रिपरिषद पूनर्गठन र गौतमलाई राष्टिय सभामा लैजाने विषय उठाउने तयारीमा हुनुहुन्छ । गौतमलाई लैजाने निर्णय कार्यान्वयन हुनुपर्ने खनालको मत छ ।

उपाध्यक्ष वामदेव गौतमको एजेण्डा आफ्नै विषयमा केन्द्रीत छ । गत फागुन १४ गते आफूलाई राष्टिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्ने गौतमको माग छ । आफूलाई नपठाउने हो भने गत फागुन १४ को निर्णय निष्क्रिय हुने गरी अर्को निर्णय गर्नुपर्ने गौतमको अडान छ ।

महासचिव विष्णु पौडेल मन्त्रिपरिषद पूनर्गगठनको पक्षमा हुनुहुन्छ । त्यसमा पौडेलको आफ्नो स्वार्थ पनि छ । अर्थमन्त्रालय सम्हालिसकेका पौडेल आफै अर्थमन्त्रीका आंकाक्षी हुनुहुन्छ । त्यसैले पौडेलको भूमिका पनि यसपटक बैठकमा खतिवडा विरुद्ध हुने देखिन्छ ।

सचिवालय सदस्य एवं पार्टी प्रवक्ता श्रेष्ठ मन्त्रिपरिषद् व्यापक हेरफेर र प्रतिवेदनका केही मुद्दाप्रति आप्नो असहमति राख्ने तयारीमा हुनुहुन्छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा पनि मन्त्रिपरिषद् हेरफेरको पक्षमा हुनुहुन्छ । तर आफ्नो मन्त्रालय नगुम्ने गरी सामान्य हेरफेरका लागि दुवैले प्रधानमन्त्री ओलीसँग छलफल गर्नुभएको छ ।

कार्यदलको प्रतिवेदनमा टेकेर नेताहरुले आफ्ना योजना अनुसार छलफल गर्न चाहिरहेका बेला वामदेव गौतम र युवराज खतिवडा मध्ये कसलाई राष्टिय सभामा पठाउने भन्ने विषय नै पेचिलो बन्ने संभावना छ । यसले कार्यदलकै प्रतिवेदन अलपत्र हुने हो कि भन्ने आशंका पनि नेकपा भित्र छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्