आर्थिक

सधैं गुल्जार रहने ठमेल अहिले सुनसान, विस्थापित हुने स्थितिमा व्यवसायी (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १५ गते ६:११
सधैं गुल्जार रहने ठमेल अहिले सुनसान, विस्थापित हुने स्थितिमा व्यवसायी (भिडियोसहित)

१५ भदौ, २०७७ काठमाडौं । दिनरात चहलपहल हुने पर्यटकीय क्षेत्र ठमेल अहिले कोभिड १९ को महामारीका कारण सुनसान छ । संक्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेसँगै ठमेलका पसल बन्द हुने र व्यवसायी विस्थापित हुने क्रम जारी छ ।

चैत यतामात्रै ठमेल क्षेत्रका चार सय भन्दा बढी पसल बन्द भएका छन् र यो क्रम दिनहुँ बढ्दो छ ।

८० प्रतिशत बाह्य र २० प्रतिशत आन्तरिक पर्यटकले चल्ने ठमेलको व्यापार व्यवसाय कोभिड९१९ को महामारीका कारण ठप्प छ । कोभिड–१९ कहिलेसम्म रहला र पर्यटक आवागमन ठप्प हुने हो भन्ने कुनै संकेत नदेखिएपछि ठमेलका पसल बन्द भैहरेका छन ।

असार तेश्रो सातासम्म ठमेल क्षेत्रका २ सय ७० पसल बन्द भैसकेका थिए । र, त्यसयता फेरि थप १ सय ५० बढी पसल बन्द भएका छन् । व्यवसाय पूर्ण रुपमा बन्दहुँदा घरभाडा तिर्न र कर्मचारीलाई तलब खुवाउनै नसक्ने भएपछि व्यवसायी पसल बन्द गर्न बाध्य भएका छन् ।

भाडा तिर्नै नसक्ने देखिएपछि असार तेश्रो साता व्यवसायी र घरधनीबीच ६ महिनादेखि १ वर्षसम्मका लागि ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भयो । तर समझदारी अनुरुप सबै घरधनीले छुट दिन मानेनन् भने निषेधाज्ञापछि पाएको छुटमा समेत पसल सञ्चालन गर्न सकिने स्थिति नबनेको व्यवसायीको भनाइ छ ।

मौद्रिक नीतिले आंशिक रुपमा मात्र सम्बोधन गरेकाले आफूहरु थप समस्यामा परेको व्यवसायीको गुनासो छ । त्यसैले ब्याजमा थप सहुलियत र भाडा समायोजन गरिदिन उनीहरुले माग गरिरहेका छन् ।

ठमेल क्षेत्रमा सानाठूला गरेर १० हजार भन्दा बढी व्यवसायी छन् भने २ हजार घरधनी छन् । ठमेलमा कार्गो, ट्राभल तथा ट्रेकिङ, हस्तकला, रेस्टुरेन्ट, होटल लगायतका व्यवसाय छन् । काठमाडौंका अन्य क्षेत्रको तुलनामा ठमेलको घरभाडा महँगो छ ।

ठमेल क्षेत्रमा व्यवसाय गर्नेले १५ हजारदेखि २५ लाखसम्म भाडा तिर्छन् । यसरी भाडामा मात्रै व्यवसायीले मासिक ३० करोड रुपैयाँभन्दा बढी बुझाउने गरेका छन् ।

तर त्यही घरभाडा नै व्यवसायीका लागि टाउको दुखाईको विषय बनेर विस्थापित हुनु परेको छ । त्यसैले व्यवसायीलाई विस्थापित हुन नदिन घरधनी र व्यवसायी दुबैलाई मारमा नपार्ने गरी सरकारले समन्वय गर्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *