१४औं महाधिवेशनको मिति सार्ने कांग्रेसको तयारी (भिडियोसहित)
१४ भदौ, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति सार्ने तयारी गरेको छ ।
कोरोनाका कारण कांग्रेसले तोकिएकै मितिमा पार्टीको महाधिवेशन गर्न नसकिने हो कि भन्दै मिति सार्ने तयारी गरेको हो ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गर्दै महाधिवेशनको मिति सार्ने विषयमा पार्टीभित्र अनौपचारिक छलफल भइरहेको जानकारी दिनुभयो।
प्रवक्ता शर्माका अनुसार अब बस्ने केन्द्रीय समितिको बैठकले यसबारे कांग्रेस निर्णय गर्नेछ । र, त्यसअघि जनस्वास्थ्य विज्ञसँग पार्टीले छलफल गर्नेछ ।
कोरोनाको त्राससँगै महाधिवेशन गर्न आन्तरिक तयारी पनि नपुग्ने देखिएको छ । तलका काम पनि बाँकी रहेको शर्माले जानकारी दिनुभयो ।
२०७६ पुष ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन ७ गतेदेखि १० गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले कार्तिक १६ गते गाउँ–नगर वडा , कात्तिक १८ गते गाउँ–नगरपालिका, कार्तिक २१ गते प्रदेशसभाको क्षेत्रीय अधिवेशन र कात्तिक २३ गते एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेका जिल्ला अधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।
यस्तै कार्तिक २५ गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला, मंसिर २९ गते प्रदेश अधिवेशन र फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया