Political Hightlights

नेकपा विवाद समाधानका लागि अब सरकार पुनर्गठनको तयारी

हिमालय टिभी
२०७७ भदौ ११ गते १९:५१
नेकपा विवाद समाधानका लागि अब सरकार पुनर्गठनको तयारी

११ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवाद समाधान उन्मुख हुँदै गर्दा सरकार पुनर्गठनको तयारी पनि भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौको तेस्रो साता मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेका खबर सार्वजनिक भइरहेका छन् । सरकार पूर्नगठन हुने भएपछि मन्त्रीका आकाँक्षीको दौडधुप पनि तिव्र भएको छ । सरकारबाट विदा हुनसक्ने तथा भित्रनसक्ने संभावित को को छन् त हेरौं ।

नेकपाभित्रको विवाद समाधानको प्रयास अब मन्त्रिपरिषद पूर्नगठनको चरणमा प्रवेश गरेको छ । १३ गते बस्ने सचिवालय बैठकपछि भदौ तेस्रो साता सरकार पूर्नगठन गर्ने नेकपाको तयारी छ । महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले दिएको सुझावमा टेकेर सरकार पुनर्गठन हुँदैछ ।

मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्तिमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड बनाउनदुई अध्यक्षलाई कार्यदलले सुझाव दिएको छ ।

कार्यदलको प्रतिवेदनको जगमा टेकेर मन्त्री बनाउने व्यक्तिका विषयमा भदौ १३ गते नेकपाको सचिवाल बैठकमा छलफल हुनेछ । दुई वर्ष कार्यकाल पुगेका र कार्यसम्पादन कमजोर भएका मन्त्री हटाउने र नयाँलाई अवसर दिने ओली र प्रचण्डबीच मोटामोटी सहमति छ ।

तर आकांक्षी भने धेरै छन । पूर्वप्रधानमन्त्रीबाहेक सचिवालयका सबैजनालाई मन्त्रिपरिषदमा लैजाने तयारी भएपनि नयाँ मन्त्रीका रुपमा सचिवालयका दुईजनाको नाम चर्चामा छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल नयाँ मन्त्री बन्ने चर्चामा हुनुहुन्छ ।

राष्ट्रियसभा सदस्यमा मनोनित गरेर भएपनि उपाध्यक्ष बामदेव गौतमलाई दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने तयारी छ । त्यसका लागि नेताहरु कानुनी परामर्शमा लागेका छन् । यसो गर्दा अर्थमन्त्री डाक्टर युवराज खतिवडा विदा हुने संभावना छ, किनकी उहाँको संसदको कार्यकाल भदौ २० गते सकिदैछ ।

त्यस्तै भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेललाई मन्त्री बनाउने तयारी छ । यस्तै महेश बस्नेत, किसान श्रेष्ठ, विरोध खतिवडा, बेदुराम भुसाल, जीवनराम श्रेष्ठ, राजबहादुर बुढा, शेरबहादुर तामांगको पनि चर्चा छ, यी मध्ये कतिपय नेताले लविङपनि थालेका छन ।

पूर्व माओवादीबाट मन्त्री बनेका सबैलाई फेर्ने प्रचण्डको तयारी छ । अरुको चासो मन्त्रीमा मात्रै भएपनि जनार्दन शर्माले गृह र उर्जा रोजेकोले पूर्व माओवादी गुटमा टसल हुने संभावना पनि छ । तर गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टलाई हटाउने विषयमा प्रधानमन्त्रीको भूमिका के हुन्छ भन्ने कुराले पनि अर्थ राख्नेछ किनकी पार्टी भित्रको पछिल्लो संघर्षमा ओलीलाई यी दुई नेताले साथ दिएको मानिएको छ । कम्तिमा १० जना मन्त्री हटाउने नेकपाको तयारी छ ।

अहिले सञ्चार र सहरी विकास मन्त्रालय रिक्त छ । वर्षमान पुन, रामेश्वरराय यादव,जगतबहादुर विश्वकर्मा, बिना मगर, गिरिराजममणि पोखरेल, हृदयेश त्रिपाठी, शक्तिबहादुर बस्नेत बिदाइ हुने संभावना छ । प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, डाक्टर शिवमाया तुम्बाहाङ्फे, बसन्त नेम्वाङलाई सुरक्षित मानिएको छ ।

माधवकुमार नेपाल समूहका घनश्याम भुसाल र योगेश भट्टराई पनि मन्त्रिपरिषदमा कायमै रहने बताइएको छ । मन्त्रिपरिषद हेरफेर भएपछि मन्त्रालय पनि हेरफेर हुने संभावना छ । तर मन्त्री नियुक्तिकै विषय पनि फेरि अर्को विवादको विषय बन्यो भने अर्को आश्चर्य हुने छैन, किनकी मन्त्रीका आकांक्षी थप बढ्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्