आर्थिक

कोरोनाले फस्टाएको विद्युतीय भुक्तानी : ३ महिनामा कारोबार १२ गुणा बढ्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ११ गते ५:५९
कोरोनाले फस्टाएको विद्युतीय भुक्तानी : ३ महिनामा कारोबार १२ गुणा बढ्यो (भिडियोसहित)

११ भदौ, २०७७ काठमाडौं । विद्युतीय भुक्तानी कारोबारमा लकडाउनको सकारात्मक प्रभाव परेको छ । लकडाउन सुरु भएपछिका तीन महिनामा विद्युतीय भुक्तानीको कारोबार १२ गुणाले बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

चैत महिनामा ९ खर्ब १५ अर्ब रुपैयाँ बराबरको विद्युतिय कारोबार भएकोमा असारसम्म पुग्दा ह्वात्तै बढेर प्रति महिना १ सय २६ खर्ब भन्दा बढी पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले लकडाउनपछि विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको देखाएको छ । इसेवा, खल्ती, फोन पे, प्रभु पे, आईएमईपे, कनेक्ट आईपीएसलगायतका माध्यमबाट हुने भुक्तानी बढेको हो ।

सरकारले चैत ११ गतेदेखि असार ६ गतेसम्म लकडाउन घोषणा गरेको थियो । राष्ट्र बैंकका अनुसार लकडाउन जारी गरिएको चैत महिनामा यस्तो भुक्तानी ९ खर्ब १५ अर्ब ७ करोड रुपैयाँ विद्युतीय कारोबार भएको थियो । तर वैशाखमा विद्युतीय कारोबार ७३ खर्ब २२ अर्ब ९७ करोड रुपैयाँ नाघ्यो ।

यो चैतको महिनाको तुलनामा ६४ खर्ब ४० अर्ब ७९ करोड रुपैयाँले बढी हो । जेठ महिनामा समेत विद्युतीय भुक्तानी कारोबार ३५ खर्ब ७९ अर्ब ८६ करोड रुपैयाँले बढेको छ । जेठमा मात्रै १०९ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको विद्युतीय भुक्तानी भएको छ ।

लकडाउन खुकुलो पारिएको असारमा समेत विद्युतीय भुक्तानी कारोबार बढ्ने क्रम रोकिएन् । असारमा १ सय २६ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । यो जेठको दाँजोमा १७ खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढी हो ।

राष्ट्र बैंकका अनुसार संख्याका हिसाबले सबैभन्दा धेरै कारोबार इ(सेवा, खल्ती जस्ता मोबाइल वालेटको माध्यममार्फत भएको छ । मोबाइल वालेटमार्फत वैशाखमा ९६ लाख ३९ हजार २ सय २८ पटक कारोबार भएको छ । जेठमा यस्तो कोरोबार १ करोड २ लाख ७५ हजार २ सय ९० पटक भएको राष्ट्र बैंकको तथ्यांक छ ।

असारमा भने १ करोड १ लाख ७९ हजार ५ सय ७ पटक कारोबार भएको छ । रकमका हिसाबमा सबैभन्दा बढि कारोबार अन्तर बैंकिङ कारोबार अर्थात आरटिजिएसमार्फत भएको छ । आरटिजिएसमार्फत बैशाखमा ६८ खर्ब ८८ अर्ब, जेठमा १ सय २ खर्ब ५१ अर्ब र असारमा १ सय १४ खर्ब ६३ अर्ब रुपैयाँ कारोबार भएको हो ।

राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहनको नीति लिए पनि लकडाउनअघि यो दरमा कारोबार बढ्न सकेको थिएन् । तर लकडाउनमा हिँडडुल गर्न नपाइने थियो भने बैंकका सीमित शाखामात्र सञ्चालनमा आएका थिए । यस्तै कोरोना संक्रमणको जोखिमको भएका कारण समेत खुलेका बैंकका शाखामै पुगेर कारोबार गर्नेको संख्यामा कमी आएको हो ।

लकडाउन अवधिभर बैंकले कारोबारमा प्रोत्साहन गरेका थिए । अन्तर बैंक एटीएम प्रयोगमा शूल्क नलाग्ने व्यवस्था गरिएको थियो भने विद्युतीय कारोबारमा पैसा नलाग्ने व्यवस्था थियो ।

यसले विद्युतीय कारोबारमा अपेक्षा गरिएको भन्दा बढ्न सघाएको हो । तर यसले सहज र सस्तो बनाइने हो विद्युतीय कारोबार बढ्ने र नोटको प्रयोगसँगै बैंकका शाखामा सेवाग्राहीको भ‍ीडभाड कम हुँदै जाने देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *