आर्थिक

कोरोना महामारीमा पनि किन घटेन रेमिट्यान्स ? यस्तो रहेछ कारण (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ९ गते २०:१८
कोरोना महामारीमा पनि किन घटेन रेमिट्यान्स ? यस्तो रहेछ कारण (भिडियोसहित)

९ भदौ, २०७७ काठमाडौं । विश्वव्यापी कोरोना महामारीका कारण धेरैले रेमिट्यान्स उच्च मात्रामा घट्ने आँकलन गरेका थिए । राष्ट्र बैंकको समेत १० प्रतिशतभन्दा बढिले रेमिट्यान्स घट्ने अनुमान थियो । तर यी अनुमानका बाबजुद गत आर्थिक वर्ष रेमिट्यान्स शून्य दशमलव ५ प्रतिशतले मात्र घटेको छ । के कारणले यस्तो भयो त ?

विश्वव्यापी कोरोना महामारी अघि दैनिक १ हजारदेखि १५ सय जना युवा वैदेशिक रोजगारीक‍ो खोजीमा देशबाट बाहिरिन्थे । लकडाउनका कारण चैतदेखि यो क्रममा ब्रेक लाग्यो । अर्कातर्फ विदेश गएकाले पनि रोजगारी गुमाउने र तलब कटौतीको मार झेल्नुपरिरहेको छ ।

चार्टड उडानमार्फत करिब ५२ हजार नेपाली घर फर्किसकेका छन् भने वैदेशिक रोजगारीमा गएका झन्डै ६ लाख नेपाली घर फर्कने अनुमान छ । यस्तोमा रेमिट्यान्स धेरै घट्ने धेरैको आँकलन थियो । राष्ट्र बैंकले समेत गत आर्थिक वर्ष रेमिट्यान्स १० प्रतिशतभन्दा बढिले घट्ने अनुमान गरेको थियो ।

तर गत आर्थिक वर्षमा कोरोना महामारीको असर रेमिट्यान्समा नपरेको देखिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष रेमिट्यान्स शून्य दशमलव ५ प्रतिशतले मात्रै घटेको छ । गत आर्थिक वर्ष ८ खर्ब ७५ अर्ब ३ करोड रेमिट्यान्स भित्रिएको छ । अर्थविद्का अनुसार रेमिट्यान्स नघट्नुका पछि विभिन्न क‍ारण छन् ।

कुन महिना कति रेमिट्यान्स भित्रियो

साउन : ७५ अर्ब ४० करोड
भदौ : ७७ अर्ब ९४ करोड
असोज : ७६ अर्ब ५१ करोड
कात्तिक : ७३ अर्ब ७९ करोड
मंसिर : ७२ अर्ब ०१ करोड
पुस : ७२ अर्ब २७ करोड
माघ : ६५ अर्ब ९८ करोड
फागुन : ७९ अर्ब २५ करोड
चैत : ३४ अर्ब ५१ करोड
वैशाख : ५३ अर्ब ९७ करोड
जेठ : ९३ अर्ब ९७ करोड
असार : १ खर्ब १ अर्ब ३६ करोड

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमध्ये साउनमा ७५ अर्ब र भदौमा ७७ अर्ब रेमिट्यान्स भित्रिएको छ । असोजमा ७६ अर्ब, कात्तिकमा ७३ अर्ब र मंसिरमा ७२ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । पुसमा ७२ अर्ब र माघमा ६५ अर्ब भित्रिएको रेमिट्यान्स फागुनमा भने ७९ अर्ब रुपैयाँ भित्रिएको छ ।

लकडाउनका कारण चैतमा ३४ अर्ब ५१ करोड र बैसाखमा ५३ अर्ब रेमिट्यान्स भित्रियो । तर जेठमा भने यो ह्वात्तै बढेर ९३ अर्ब नाघ्यो । असारमा त आर्थिक वर्षभरीकै धेरै अर्थात १ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

डलरको दाँजोमा नेपाली मुद्रा कमजोर भएका कारण पनि रेमिट्यान्स बढि देखिएको हो । कोरोना महामारीकै बीच धेरै देशमा आर्थिक क्रियाक्लाप पुरानै लयमा फर्कन सुरु गरेकाले यो आर्थिक वर्ष समेत रेमिट्यान्स आप्रवाहमा भारी गिरावट आउने सम्भावना कम रहेको अर्थविद् बताउँछन् ।

आर्थिक सर्वेक्षणले ५६ प्रतिशत घरदुरीमा रेमिट्यान्स भित्रिने देखाएको छ । त्यसैले रेमिट्यान्समा हुने घटबढको असर लाखौँ नेपालीको दैनिक जीवनमा त पर्छ नै मुलुकको अर्थतन्त्रमा पनि यसले प्रभाव पार्ने गरेको छ । कोरोना महामारीका बीच पनि रेमिट्यान्समा ठुलो गिरावट नआउनु मुलुकका लागि सकारात्मक पक्ष हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *