महासचिव पौडेल नेतृत्वको कार्यदलले बुझायो प्रतिवेदन

६ भदौ, २०७७ काठमाडौं । पार्टीभित्रको विवाद पहिचान गरी समस्या समाधनका लागि सुझाव दिन गठित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
कार्यदल गठन भएको ८ दिनपछि सदस्यहरुले अध्यक्ष ओली र प्रचण्डलाई बालुवाटार पुगेर प्रतिवेदन बुझाएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले सर्वसम्मतिले तयार भएको प्रतिवेदन दुई अध्यक्षलाई बुझाएको जानकारी दिनुभयो ।
कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टीको एकता महाधिवेशनसम्म कार्यकारी अध्यक्षसहित प्रचण्डले पार्टी काम कारबाहीलाई प्रभावकारी बनाउने, बाँकी रहेको कार्यकाल ओली नै प्रधानमन्त्री हुने, पार्टीको एकता महाधिवेशन केन्द्रीय कमिटीले तोकेको मितिमा हुने सुझाव दिइएको छ ।
यस्तै प्रतिवेदनमा पार्टीभित्रको विवाद समाधानको लागि कमजोर कार्यसम्पादन रहेका र दुई वर्ष पुगेका मन्त्रीलाई हटाएर नयाँलाई अवसर दिने सुझाव छ । मुख्यमन्त्री हेरफेर गर्न पनि कार्यदलले दुई अध्यक्षलाई सुझाव दिएको छ ।
पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग भएपछि फुटको दिशामा पुगेको पार्टीलाई बचाउन भन्दै कार्यदल गठन गरिएको थियो ।
कार्यदलको संयोजकमा विष्णुप्रसाद पौडेल र सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल छन् ।
प्रतिक्रिया