Political Hightlights

नक्सा प्रकरणपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच पहिलोपटक फोन वार्ता

हिमालय टिभी
२०७७ साउन ३१ गते १४:४८
नक्सा प्रकरणपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच पहिलोपटक फोन वार्ता

३१ साउन, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले भारतको ७४ औ स्वतन्त्रता दिवसको अवसर पारेर मोदीलाई टेलिफोन गर्नुभएको हो । वार्तामा प्रधानमन्त्री ओलीले भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिनुभएको बालुवाटार स्रोतले जनाएको छ ।

नेपालले लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी गरेपछि दुई प्रधानमन्त्रीबीच पहिलो पटक टेलिफोन वार्ता भएको हो । नक्सा प्रकरणपछि भारतसँग नेपालको सम्वन्ध चिसिएको छ ।

प्रधानमन्त्री ओलीले आज विहान ट्वीटमार्फत पनि स्वतन्त्रता दिवसको शुभकामना दिनुभएको थियो । ट्वीटमा प्रधानमन्त्री ओलीले भारतका जनताको थप प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।

यसैगरी सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रेस नोट जारी गरेर भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै त्यहाँका जनताको प्रगतीको कामना गर्नुभएको छ ।

भारत अंग्रेज शासकको उपनिवेशबाट सन १९४७ सालमा आजकै दिन मुक्त भएको थियो । स्वतन्त्रता दिवसका अवसरमा दिल्लीमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सीमा नजोडिएका तर मन मिलेका देश पनि छिमेकी भएको बताउनुभएको छ ।

सबै छिमेकी देशसँग आर्थिक, सामाजिक र साँस्कृतिक एकता गहिरो रहेको भन्दै उहाँले दक्षिण एसियाका नेतासँग मिलेर काम गर्न इच्छुक रहेको समेत बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्