आर्थिक

घट्यो गाडीको आयात : गत आर्थिक वर्ष २६ अर्बले कम (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २९ गते ६:३१
घट्यो गाडीको आयात : गत आर्थिक वर्ष २६ अर्बले कम (भिडियोसहित)

२९ साउन, २०७७ काठमाडौं । सरकारले गरेको कडाईका कारण गत आर्थिक वर्षमा सवारी साधनको आयात घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २६ अर्ब १३ करोड रुपैयाँ कमका गाडी नेपाल भित्रिएका छन् ।

यसले गत वर्ष सवारी साधन आयातबाट उठ्ने राजस्व समेत २६ अर्ब ६ करोडले घटेको छ । भुकम्पपछिका हरेक वर्ष सवारीसाधन आयातमा बाहिरीने रकम वर्षेनी बढ्ने गरेकोमा गतवर्ष भने घटेको हो ।

धेरै जसो गाडी कम्पनीका एसेम्बल कारखाना भारतमा खुलेका हुँदा नेपालमा भा‍रतबाटै सवारीसाधन तथा तीनका पार्टपुर्जा भित्रिन्छ । महंगा एवंम भारतमा एसेम्बल कारखाना नभएका कम्पनीका सवारीसाधन तथा पार्टपुर्जा भने तेस्रो देशबाट भित्रिने गरेका छन् ।

भन्सार विभागको तथ्यांकले गत आर्थिक वर्ष ६५ अर्ब २ करोड रुपैयाँ बराबरको सवारीसाधन र तीनका पार्टपुर्जा आयात भएको देखाएको छ । यसबाट सरकारले ५७ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

सवारीसाधन आयातमा बाहिरिएको रकम
आर्थिक वर्ष २०७३–७४ : ७९ अर्ब ५० करोड
आर्थिक वर्ष २०७४–७५: ८६ अर्ब ३१ करोड
आर्थिक वर्ष २०७५–७६ : ९१ अर्ब १५ करोड
आर्थिक वर्ष २०७६–७७ : ६५ अर्ब २ करोड

सवारीसाधन आयातबाट संकलित राजश्व
आर्थिक वर्ष २०७३–७४ : ७१ अर्ब ६७ करोड
आर्थिक वर्ष २०७४–७५ : ८० अर्ब २३ करोड
आर्थिक वर्ष २०७५–७६ : ८३ अर्ब ४० करोड
आर्थिक वर्ष २०७६–७७ : ५७ अर्ब ३४ करोड

सवारीसाधन तथा पार्टपुर्जा आयात अघ्लिो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २६ अर्ब १३ करोड रुपैयाँले घटेको विभागको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५–७६ मा ९१ अर्ब १५ करोड रुपैयाँको सवारीसाधन तथा पार्टपुर्जा आयात भएको थियो । आयात घटेपछि गत वर्ष सवारीसाधन तथा पार्टपुर्जाको आयात शिर्षमा उठ्ने राजस्व समेत घटेको छ ।

आर्थिक वर्ष २०७५–७६ यो शिर्षकमा ८३ अर्ब ४० करोड राजस्व संकलन भएकोमा गत आर्थिक वर्ष ५७ अर्ब ३४ करोड रुपैयाँ मात्र उठेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २६ अर्ब ६ करोड रुपैयाँले कम हो । भुकम्पपछिका वर्षमा आयात हुने सवारीसाधनको संख्या घट्दै गए पनि रकमका हिसाबले यो ग्राफ बढ्दै गएको थियो ।

आर्थिक वर्ष २०७३–७४ मा ७९ अर्ब ५० करोड रुपैयाँ र आर्थिक वर्ष २०७४–७५ मा ८६ अर्ब ३१ करोड रुपैयाँको सवारीसाधन तथा पार्टपुर्जा आयात भएको थियो । यसबाट राजस्व संकलन पनि बढ्दै गएको थियो । आर्थिक वर्ष २०७३–७४ मा ७१ अर्ब ६७ करोड र आर्थिक वर्ष २०७४–७५ मा ८० अर्ब २३ करोड रुपैयाँ राजस्व उठेको थियो ।

तर गत वर्ष भने यो क्रम रोकिएको छ । सवारीसाधनमा लाग्ने भन्सार वृद्धि र मौद्रिक नीतिमार्फत सवारी ऋणमा गरिएको कडाईका कारण आयातमा कमी आएको हो । सरकारले सवारी साधनको आयातमा विभिन्न शिर्षक अन्तर्गत २ सय ४० प्रतिशतसम्म भन्सार राजस्व उठाउँछ ।

यस्तै राष्ट्र बैंकले सवारीसाधनमा बैंकबाट प्रवाह हुने कर्जामा कडाई गरेको छ । राष्ट्र बैंकको नीति अनुसार बैंकहरुले सवारी मूल्यको ५० प्रतिशतसम्म मात्रै कर्जा दिन् पाउँछन् । पहिले ६५ प्रतिशतसम्म फाइनान्सको सुविधा रहेकोमा त्यसलाई घटाएर ५० मा झारिएको छ ।

यसरी कर्जा लिँदा आयस्रोत र कर चुक्ताको प्रमाण बुझाउनुपर्ने व्यवस्था छ । यसले सवारीसाधन किन्नेको संख्या घटाएको हो जसको प्रभाव आयातमा समेत देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *