Political Hightlights

‘बुद्ध महान भारतीय नागरिक’ भन्ने भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

हिमालय टिभी
२०७७ साउन २५ गते १४:०३
‘बुद्ध महान भारतीय नागरिक’ भन्ने भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

२५ साउन, २०७७ काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘बुद्ध महान् भारतीय भएको’ भन्ने भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्नुभएको छ ।

ट्वीटरमार्फत शर्माले बुद्ध नेपालमै जन्मेको पौराणिक र प्रमाणित तथ्यहरुले प्रष्ट पारेको भन्दै भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको हो ।

बुद्ध नेपालमा जन्मेको भनेर संसारमा कहीँबाट कसैको दर्ता प्रमाणपत्र नमागिएको भन्दै भारतीय विदेशमन्त्रीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बुद्ध भूमि हो भनेर बोलेको स्मरण गराउनुभएको छ ।

शर्माले आवेगको जवाफ आवेग दुवै देशको हितमा नभएको पनि टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालको ठोरीमा भएको दोहोर्‍याएर बोलेको प्रसंगतिर संकेत गर्दै शर्माले भन्नुभएको छ –राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन् । मूल विषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।’

भारतीय उद्यमी तथा व्यवसायीको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट सेभेन्टी फाइभ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले बुद्ध महान् भारतीय भएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्