सानेपामा देउवा विरुद्ध पौडेल पक्षको भेला, भन्छ– ‘देउवाको निर्णय मान्दनौं ‘ (भिडियोसहित)
१४ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि विवादमा फसेको छ । महाधिवेशन नजिकिदै जाँदा कांग्रेसमा किचलो बढेको हो ।
सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई आफू अनुकल बनाउने गरी निर्णय गरिरहेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ ।
देउवाले एकपक्षीय रुपमा विधान विपरित विभाग गठन र मनोनयन गरेको भन्दै पौडेल पक्षले केन्द्रीय कार्यालयमै छुट्टै भेला गरेको छ ।
भेलाले महाधिवेशन निष्प्क्षताको ग्यारेन्टी गर्न माग गरेको छ । यस्तै देउवालाई भेटेर यसका लागि दबाब दिने निर्णय गरेको महामन्त्री शशांक कोईरालाले जानकारी दिनुभयो ।
महाधिवेशन प्रभावित गर्नकै लागि सभापति विभाग गठन र मनोनयन गरेको पौडेल समूहको निष्कर्ष छ । देउवाले कार्यकालको ६ महिनाभित्र गठन गर्नुपर्ने पार्टीका केन्द्रीय विभाग महाधिवेशन आउन सात महिना बाँकी छँदा गठन गर्नुभएको छ ।
पौडेल पक्षको विरोधका बाबजुद २० वटा विभागका संयोजक तोकिएको छ भने सदस्य पनि धमाधम मनोनयन गर्ने काम भैरहेको छ ।
स्थापनइतर पक्षले मनोनयन रोक्न लिखित रुपमै उजुरी दिँदा पनि सभापति देउवाले त्यसलाई अस्वीप्कार गर्दै आउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोईराला, नेताहरु डाक्टर शेखर कोईराला, डाक्टर मिनेन्द्र रिजाल र डाक्टर चन्द्र भण्डारी लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया