Political Hightlights

स्थायी कमिटीमा सहमति जुट्न नसकेपछि आज नेकपा सचिवालय बैठक बस्दै

हिमालय टिभी
२०७७ साउन ३ गते ७:४८
स्थायी कमिटीमा सहमति जुट्न नसकेपछि आज नेकपा सचिवालय बैठक बस्दै

३ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बोलाइएको छ । दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भएको छ ।

दुई अध्यक्षबीच लामो संवादपछि पनि सहमति नभएपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसहितको बैठक बसेको थियो । त्यस बैठकमा पनि दुवै पक्षले आ–आफ्नो अडान राखेपछि कुनै सहमति जुट्न सकेको थिएन ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर आइतबारसम्मका लागि स्थगित भएको छ ।

ओली र प्रचण्डबीच स्थायी कमिटीमा प्रस्तुत गर्ने समसामयिक प्रस्ताव, कोरोना नियन्त्रण र प्राकृतिक प्रकोपको राहत तथा उद्धारका लागि पार्टीपंक्तिलाई परिचालन गर्ने, केन्द्रीय कमिटीमा लैजाने राजनीतिक प्रतिवेदनका सैद्धान्तिक विषयलगायत एजेन्डामा सहमतिका लागि प्रयास भइरहेको बुझिएको छ ।

सचिवालयमा कुनै ठोस सहमति नभए आइतबार स्थायी कमिटी बैठक पनि स्थगित हुने सम्भावना छ । सचिवालयमा सहमति जुटे अध्यक्षद्वय ओली र प्रचण्ड केन्द्रीय कमिटी बैठकको मिति तोक्नुअगावै छलफलका लागि लैजाने एजेन्डामा समझदारी खोज्ने प्रयासमा जुट्ने छन् ।

यद्यपि बिहीबार अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालबीचको छलफलमा शुक्रबारको स्थायी कमिटी बैठक नरोक्ने र भदौ पहिलो साताभित्र केन्द्रीय कमिटी बैठक बोलाउने समझदारी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्